चिनियाँ विदेशमन्त्री वाङ आज नेपाल आउँदै, यी हुन् नेपालले अगाडि सारेका ९ आयोजना




काठमाडौं । लामो समयपछि चिनियाँ विदेशमन्त्री वाङ यी आज नेपाल भ्रमणमा आउँदैछन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणमा आउन लागेका वाङ यीको नेपाल भ्रमणका क्रममा केही महत्वपूर्ण विषयमा छलफल हुने र केही विषयमा सम्झौता समेत गर्ने तयारी छ ।

पाकिस्तानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन लागेका वाङको भ्रमणका क्रममा मन्त्रिस्तरीय दुई देशीय सबैभन्दा माथिल्लो तहको संयन्त्र बैठक समेत हुनेछ । विदेशमन्त्रीको भ्रमणलाई चिनियाँ राष्ट्रपति सी जिङ पिङको नेपाल भ्रमणसँग पनि जोडेर हेरिएको छ ।

नेपालले चिनियाँ राष्ट्रपति सीले अगाडि सारेको बीआरआई परियोजनामा हस्ताक्षर भए पनि कुनै आयोजना ठोस रुपमा अगाडि बढ्न नसकिरहेको अवस्थामा विदेशमन्त्रीको भ्रमणले थप सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ ।

बीआरआईमा नेपालले कुल ९ वटा आयोजनालाई समावेश गरिदिन आग्रह गर्दै आएको छ । सो परियोजनामा छनोटमा परेका आयोजनामा रसुवागढी-काठमाडौं सडक स्तरोन्नती, किमाथाङका हिले सडक निर्माण, दिपायलदेखि चिनियाँ सीमावर्ती क्षेत्रसम्म सडक निर्माण, टोखा विदुर सडक छन् ।

यस्तै, गल्छी-रसुवागढी केरुङ ४०० केभी अन्तरदेशीय प्रसारणलाइन, ७६२ मेगावाट क्षमताको जलाशययुक्त तमोर जलविद्युत आयोजना, ४६२ मेगावाटको अर्धजलाशाययुक्त फुकोट–कर्णाली जलविद्युत आयोजना, केरुङ–काठमाडौं रेलमार्ग र मदनभण्डारी टेक्निकल इन्स्टिच्युटलगायतका आयोजना छन् ।

सरकारले ३६ वटा आयोजनालाई बीआरआईमा समावेश गर्न यसअघि अनुरोध गरेपछि चीनले ती आयोजनाबाट छनोट गरेर एकल अङकका आयोजना मात्रै पहिलो चरणमा उपलब्ध गराउन भनेको थियो ।

सोही आधारमा सरकारले ९ वटा आयोजना छनोट गरी लगानीका लागि चीनलाई आग्रह गरेको हो ।

विदेशमन्त्रीको भ्रमणका क्रममा यी आयोजनालाई अगाडि बढाउने र चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणलाई थप मार्ग प्रशस्त गर्ने तयारी गरिएको छ ।

केही समयपछि भारत जान लागेका चिनियाँ राष्ट्रपति सी सोही क्रममा एकदिने पाहुनाका रुपमा नेपाल आउन सक्ने सम्भावना छ । सोही सम्भावनालाई मध्यनजर गरेर चिनियाँ विदेशमन्त्री वाङले नेपाल भ्रमण गर्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बीआरआईमा सम्झौता भए पनि कुनै पनि आयोजनाले गती लिन नसक्नुका पछाडि नेपालको आफ्नै तयारीको अभाव देखिएको छ ।

भारतको नाकाबन्दीका क्रममा चर्कोरुपमा अगाडि सारिएको चिनियाँ पेट्रोलियम पदार्थको आयात र त्यससँग जोडिएका कर तथा अन्य शुल्कको छुट लगायतका विषयमा समेत छलफल गर्नुपर्ने माग आन्तरिक रुपमा उठेको छ ।

३ दिन नेपाल रहने चिनियाँ विदेशमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतसँग भेटावार्ता गर्नेछन् ।


क्लिकमान्डु