विमानस्थलका कर्मचारीलाई मोबाइल नचलाउन पर्यटनमन्त्रीको निर्देशन



काठमाडौं । पर्यटनमन्त्री योगेश भट्टराईले विमानस्थलमा कार्यरत कर्मचारीका उजुरीका फोटोहरु आफूले पाएको उल्लेख गर्दै कर्मचारीलाई अब सचेत रहन आग्रह गरेका छन् ।

आइतबार बिहान त्रिभुवन विमानस्थलका कर्मचारी तथा सुरक्षा कर्मचारीहरुलाई सम्बोधन गर्दै भट्टराईले विमानस्थलमा आउने यात्रुहरुलाई राम्रो व्यवहार गर्न सुझाव दिए ।

उनले भने, ‘विमानस्थलका कार्यरत सेवा सुविधा कम हुन सक्छ, २४ घण्टा नै काम गर्नुपर्छ थाहा छ तै पनि यो अन्य ठाउँभन्दा राम्रो ठाउँ हो त्यसैले झर्को नमानी सेवा दिनुहोस ।’

विमानस्थलमा गरिने व्यवहार विदेशी यात्रुका लागि हाम्रो पहिचान हो, जति राम्रो व्यवहार भयो त्यतिनै राम्रो सन्देश बाहिर जान्छ ।

भट्टराईले विमास्थलका कर्मचारीले ड्युटी आवर मै पान, गुट्खा खाने, मोबाइल चलाउने, गफ मात्रै गरेका तस्बिरहरु उजुरी स्वरुप आफू कहाँ आएको बताउँदै त्यसबारेमा सचेत गराउन विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीलाई निर्देशन दिए ।

विमानस्थलले यात्रुहरुलाई सकारात्मक सोचबारे ५ दिने प्रशिक्षणको उद्घाटन गर्दै भट्टराईले ड्युटी आवरमा मोबाइल नचलाउन कर्मचारीलाई निर्देशन दिए ।

उनले भने, ‘ड्युटी आवरमा मोबाइल चलाउन पाइँदै, पर्सनल काम जति खाजा खाने समयमा गर्नुहोस, ड्युटीको समयमा यात्रुको सेवामा ध्यान दिनुहोस् ।’

फेसबुकमार्फत विमानस्थलबारे ६ हजारभन्दा बढी सुझाव आएको उल्लेख गर्दै ती सबै सुझावलाई स्क्रिनिङ गरिरहेको बताए ।

उनका अनुसार कमेन्टमा आएको धेरै सुझावमध्ये कर्मचारीको व्यवहारबारे छन् ।

सन् २०२० को पर्यटन वर्षलाई लक्षित गरी कर्मचारीले जस्तो सुकै अवस्थामा पनि यात्रुलाई नरम व्यवहार गर्न निर्देशन दिए ।

प्रशिक्षण तालिम प्रत्येक दिन ३ सिफ्टमा ५ दिनसम्म चल्नेछ । जसमा ९०० भन्दा बढी कर्मचारी, नेपाल आर्मी, नेपाल प्रहरी, इन्जिनियरहरुलगायतका कर्मचारी सहभागी हुनेछन् ।


क्लिकमान्डु