टेलिकमको फोरजी माघसम्म देशभरी पुर्याउने तयारी




काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले देशभर नै फोर जी सेवा विस्तार गरे पनि सरकारी स्वामित्वको नेपाल टेलिकमले भने आगामी माघसम्म त्यस्तो सेवा विस्तार गर्ने तयारी गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेका कारण २ वर्षसम्म फोर जी सेवा विस्तारमा अवरोध उत्पन्न भएपछि प्रतिष्पर्धी कम्पनी अगाडि बढेको थियो ।

नेपाल टेलिकमका अनुसार आगामी कात्तिकसम्म प्रमुख २५ सहरमा फोर जी सेवा विस्तार गरिने र माघसम्म प्रमुख सबै सहरहरुमा फोर जी सेवा पुर्याउने गरी काम सुरु भएको छ ।

फोर जी सेवा विस्तार गर्न गत माघ २० गते चिनियाँ कम्पनी सीसीएसआई र जेडटीईसँग ठेक्का सम्झौता भएको छ । कुल १८ अर्ब ८० करोड रुपैयाँ लागतमा उक्त काम १ वर्षभित्र सक्ने गरी सम्झौता भएको हो ।

सम्झौता भएको अवधिदेखि हालसम्म करिब ४५ प्रतिशत काम सम्पन्न भएको छ । बाँकी ५५ प्रतिशत काम सम्पन्न गरी फोर जी सेवा विस्तार गर्ने टेलिकमको तयारी छ ।

फोर जीका लागि ४ हजार नयाँ भीटीएस टावर थपिएको र अन्य प्राविधिक तयारी समेत भइसकेको छ । फोर जी सेवा विस्तारमा आक्रमक देखिएको एनसेलले बजार हिस्सा बढाएसँगै टेलिकमलाई थप दबाब परेको हो ।


क्लिकमान्डु