ज्योति विकास बैंकले खोल्यो महाराजगंजमा नयाँ शाखा
काठमाडौं । ज्योति विकास बैंकले भदौ १० गते मगंलबार काठमाडौंको महाराजगंजमा नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ ।
बैंकिङ पहुँच विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ नयाँ शाखा महाराजगंजमा सञ्चालनमा ल्याइएको छ ।
बैंकको नयाँ शाखाको उद्घाटन पूर्व अर्थमन्त्री डा रामशरण महतको प्रमुख आतिथित्वमा भएको हो ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाका, वडा–३ का वडाध्यक्ष दीपक केसी, ज्योति विकास बैंकका अध्यक्ष हरिचन्द्र खड्का, प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले समेतले सम्बोधन गरेका थिए ।
उद्घाटन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि पूर्व अर्थमन्त्री डा रामशरण महतले बैंकिङ क्षेत्रको प्रगति र यसले मुलुकको ढुकुटीमा पुर्याएको योगदान उल्लेखनीय रहेको कुरामा जोड दिए ।
साथै बैंकहरुले आधुनिक सेवामार्फत सबै जनता तथा संस्थाहरुलाई सहयोग गरी मुलुकको अर्थतन्त्रलाई अघि बढाउन अग्रसर रहनु पर्ने धारणा व्यक्त गरे ।
यसका साथै अपार सम्भावना भएको हाम्रो देशलाई समुन्नति तिर लान ज्योति विकास बैंकको योगदानको ठुलो अपेक्षा रहेको पनि बताए ।
कार्यक्रममा ज्योति विकास बैंकका अध्यक्ष हरिचन्द्र खड्काले विगतका दिनमाझैं ज्योति विकास बैंकले सेवाग्राही र समाजको माग अनुसार ल्याइरहेको सेवा र सुविधालाई निरन्तरता दिने र अझ सुधार उन्मुख रहने प्रतिबद्धता व्यक्त गरे ।
यसका साथै बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले पनि नयाँ शाखामार्फत बैंकिङ सेवा थप विस्तार भएको र जनतालाई बैंकको पहुँच अझ सहज भएको बताए ।
उनले बैंकले आगामी दिनमा पनि जनमानसमा बैंकिङ सेवा सहज र सरल बनाउन लागिरहने प्रतिबद्धता व्यक्त गरे ।
वडाध्यक्ष दीपक केसीले बैंकलाई स्थानीय स्तरमा गर्नुपर्ने सहयोगका लागि हरेक ढंगले सहयोग गर्ने बताए ।
हाल ज्योति विकास बैंकले १०२ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ४१ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ ।
आर्थिक वर्षमा थप नयाँ शाखा सञ्चालनमा ल्याउने प्रक्रियामा छ । साथै यस आर्थिक वर्षभित्र नै अन्य थप २५ स्थानबाट समेत एटीएममार्फत सेवा प्रदान गर्ने तयारीमा रहेको छ ।
हालसम्म बैंकले २ लाख ४० हजारभन्दा बढी खाताबाट २९.५० अर्ब रुपैयाँभन्दा बढी निक्षेप संकलन गरी २० हजारभन्दा बढी ऋणीलाई २६ अर्व रुपैयाँभन्दा बढी लगानी गर्न सफल भएको छ ।