कस्तो गाडीको बीमा गर्न कति खर्च लाग्छ ?



काठमाडौं । आजदेखि नाडा अटो शो सुरु भएको छ । सवारीमा तेस्रो पक्ष बीमा अनिवार्य गरिएको छ । गाडी अनुसार बीमा रकम फरक पर्ने छ । बीमा कम्पनीले संकलन गरेको बीमा शुल्कमा ५० प्रतिशत हिस्सा मोटर बीमाको हुने गरेको छ ।

गत आर्थिक वर्षको पहिलो ९ महिनामा सवा १० लाखभन्दा बढी मोटरको बीमा लेख जारी भएको छ । आर्थिक वर्ष २०७५/७६ को चैत्र मसान्तसम्म १० लाख १८ हजार २९८ मोटर बीमा लेख जारी भएको बीमा समितिले जानकारी दिएको छ ।

कम्पनीहरुले जारी गरेको बिमालेखमध्ये मोटर बीमाको हिस्सा ४२ प्रतिशतको हाराहारीमा रहेको छ ।

समितिमा वैशाखदेखि असार मसान्तसम्मको तथ्याङक अध्यावधिक हुन बाँकी छ । चैत्रपछि मोटरको नविकरण बढी हुने भएकाले यो संख्या बढ्न सक्ने समितिले जनाएको छ ।

पछिल्लो समयमा सवारी साधन दुर्घटनामा पर्ने क्रम न्यून हुन सकेको छैन । सवारी साधनमा हुने दुर्घटनाबाट हुने आर्थिक क्षति कम गर्नका लागि पनि सवारी साधन बीमा आवश्यक छ ।

सवारीसाधन दुर्घटना भएको खण्डमा हुने आर्थिक क्षतिलाई कम गर्नका लागि राम्रो विकल्पको रुपमा सवारी बीमा छ । यसको अरु कुनै विकल्प पनि छैन । सरकारले तेस्रो पक्ष र यात्रु पक्ष बीमालाई अनिवार्य नै गरेको छ ।

मोटर अन्र्तगत यान्त्रिक शक्तिद्वारा सडकमा गुड्ने सवारी साधनहरु कार, जिप, ट्रक, बस, ट्याक्टर तथा मोटरसाइकललगायत पर्दछन् ।

मोटर बीमा भनेपछि तेस्रो पक्ष बिमा पनि जोडिन आउँछ । आफनो सवारी साधनले अर्को सवारी साधन, व्यक्ति वा भौतिक सम्पतिलाई क्षति पु¥याएको अवस्थामा आईपर्ने आर्थिक जोखिम न्यून गर्नका लागि तेस्रो पक्ष बीमा आवश्यक पर्छ ।

यस्तोमा चाँही आफ्नो कुनै पनि साधनले अन्य जो कसैको सवारी साधनलाई कुनै पनि प्रकारको हानी पु¥याएको खण्डमा तेस्रो पक्षलाई कम्पनीले नै दाबी भुक्तानी दिने गरेको छ । जसले गर्दा सवारी धनीले तेस्रो पक्ष बीमा गर्ने गर्दछन् ।

तेस्रो पक्ष बिमाले कुनै व्यक्तको सवारी साधनले, अन्य व्यक्तिलाई कुनै पनि प्रकारको क्षति पु¥याएमा अघिकतम ८० लाख भुक्तानी गर्नुपर्ने छ । यो बीमा दर सम्बन्धी निर्देशिका २०७३ मा नै व्यवस्था गरेको छ ।

दुर्घटनाको कारण आफनो मोटरमा हुने क्षति, दुर्घटना स्थलबाट मोटर तान्ने खर्च, आफनो मोटरले अरुको मोटर, सम्पत्ति, बटुवा वा पन्छि चौपया आदिलाई क्षति पु¥याएमा मोटर बीमा गर्ने गरिएको छ ।

अब मोटर बीमा गर्ने नै भएपछि यो कसरी गरिन्छ भनेर पनि सबैले थाहा पाउन आवश्यक रहन्छ । त्यसका लागि सवारी धनीले आफूलाई पायकपर्ने तथा आफूले रुचाएको निर्जीवन बीमा कम्पनी छनोट गर्नुपर्ने हुन्छ ।

त्यसका लागि सवारी साधनको ब्लुबुक अथवा सवारी खरिद गर्दा लिएको भ्याट विलको फोटोकपी, सवारी धनीको परिचय पत्र लगायतका आवश्यक कागजात आवश्यक पर्छ ।

यस्तै सवारी धनीले केवाईसी फारम पनि भर्नुपर्छ । यति भएपछि बीमा दुई पक्ष बीचको बीमा सम्झौता गरिन्छ ।

बीमा समितिले मोटर बीमा दर सम्बन्धी निर्देशिका २०७३ मा नै कुन मोटरको बीमा गर्दा कति शुल्क लाग्छ भनेर व्यवस्था गरेको छ । जसमा विद्युतीय-सौर्य सवारी साधनको बीमा गर्दा २० किलोवाटसम्म १० वर्षसम्मका लागि घोषित मूल्यमध्ये पहिलो २० लाखसम्म घोषित मूल्यको ०.६३ प्रतिशत र बाँकी घोषित मूल्यको ०.८४ प्रतिशत तथा ३ हजार रुपैयाँ, १० वर्षभन्दा बढीको लागि माथि उल्लेखति भएको दरमा १० प्रतिशत थप हुने निर्देशिकामा उल्लेख छ ।

तेस्रो पक्ष प्रतिको दायित्व बीमा ३ हजार रुपैयाँ रहेको छ ।

यस्तै २० किलोवाट भन्दा माथिको लागि १० वर्षसम्म घोषित मूल्यमध्ये पहिलो २० लाखसम्म घोषित मूल्यको ०.६५ प्रतिशत र बाँकी घोषित मूल्यको ०.८४ प्रतिशत र ४ हजार रुपैयाँ रहेको छ ।

यस्तै १० वर्षभन्दा बढीको लागि माथि उल्लेखित दरमा १० प्रतिशत थप लाग्ने छ । यसमा तेस्रो पक्ष प्रतिको दायित्व बीमाका लागि ४ हजार रुपैयाँ लाग्ने छ ।

निर्देशिकामा नै निजी सवारी साधनको क्षति–हानी नोक्सानी विरुद्धको बीमाको न्यूनतम बीमाशुल्क २ हजार हुने उल्लेख छ ।

यस्तै निजी सवारी साधनले बीमा गर्दा १ हजारभन्दा कम सीसीसम्म १० वर्षका लागि घोषित मूल्यमध्ये पहिलो २० लाखसम्म घोषित मूल्यको ०.८४ प्रतिशत र बाँकी घोषित मूल्यको १.१२ प्रतिशत र ३ हजार रुपैयाँ छ ।

यस्तै १ हजारदेखि १६ सयसम्म घोषित मूल्यमध्ये पहिलो २० लाखसम्म घोषित मूल्यको ०.८७ प्रतिशत र बाँकी घोषित मूल्यको १.१२ प्रतिशत र ४ हजार रुपैयाँ छ भने १६ सय भन्दा माथि घोषित मूल्यमध्ये पहिलो २० लाखसम्म घोषित मूल्यको ०.९० प्रतिशत र बाँकी घोषित मूल्यको १.१२ प्रतिशत र ६ हजार रुपैयाँ रहेको छ ।

यस्तै १० वर्षभन्दा माथिका लागि सबै १६ सय सीसीसम्ममा नै माथि उल्लेखित दरमा १० प्रतिशत थप शुल्क लाग्ने छ । तेस्रो पक्ष प्रतिको दायित्व बीमामा १ हजारभन्दा कम सीसीमा ३ हजार, १ हजारदेखि १६ सयसम्म ४ हजार र १६ सयभन्दा बढी सीसीमा ६ हजार रुपैयाँ लाग्ने छ ।

निर्देशिकामा कुनै व्यक्ति वा संस्थाको निजी सवारी साधन अर्को व्यक्ति वा संस्थाको निजी प्रयोगको लागि भाडामा दिइएको भएमा उल्लेखित बीमाशुल्कमा १० प्रतिशत थप गरी कर कायम गर्नुपर्ने उल्लेख छ ।


क्लिकमान्डु