आफ्नो नामको सीम अरुलाई प्रयोग गर्न दिनु भएको छ ? कारबाहीमा पर्नुहोला




काठमाडौं । के तपाईले आफ्नो नाममा निकालेको दूरसञ्चार सेवा प्रदायकको सीम अनधिकृत रुपमा नचिनेका व्यक्तिलाई प्रयोग गर्न दिनु भएको छ ?

यदि छ भने तपाईले तत्कालै त्यस्तो व्यवहार सच्चाउनु पर्ने हुन्छ । तपाईको नाममा निकालिएको सीम अपराधिक गतिविधिमा संलग्न हुने व्यक्तीले प्रयोग गरेमा तपाईलाई समेत कानूनी कारबाही हुन सक्नेछ ।

कानूनी कारबाहीबाट बच्नका लागि तपाईले आफ्नो नाममा लिएको सीम वा त बन्द गर्नुपर्ने छ वा आफैले प्रयोग गर्नुपर्नेछ ।

नेपाल दूरसञ्चार प्राधिकरणले एक सूचनामार्फत आफ्नो नाममा लिएको सीम आफै प्रयोग गर्न आग्रह गरेको छ ।

प्राधिकरणले एक सूचना प्रकाशित गरी अनधिकृत व्यक्तीलाई आफ्नो नाममा निकालिएको सीम प्रयोग गर्न नदिन आग्रह गरेको छ । सरकारले विद्युत प्रविधिमार्फत जनतालाई सरकारी सेवा प्रदान गर्ने उद्देश्यले नागरिक एप्स सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ ।

उपभोक्ताले प्रयोग गर्ने मोबाइल नम्बरलाई नागरिककको पहिचानको माध्यम बनाउँदा सहज र सरल समेत हुने भएकाले उपभोक्तालाई मोबाइल नम्बर नै सरकारी नागरिक एप्ससँग लिंक गराउने तयारी गरिरहेको छ ।

त्यसका लागि सम्पूर्ण उपभोक्ताले आफ्नो नाममा लिएको सीम अरुलाई प्रयोग गर्न नदिन आग्रह गरेको हो ।


क्लिकमान्डु