मन्त्री अर्यालले भनिन्- सहकारीले राष्ट्रिय आम्दानीमा योगदान गर्न कृषिमा लगानी गर्नुपर्छ



काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्यमाकुमारी अर्यालले साना किसान कृषि सहकारी संस्था गाउँ-गाउँका किसानको घरदैलोमा पुग्नुपर्ने बताएकी छन् ।

नेपाल साना किसान कृषि सहकारी केन्द्रीय संघले आयोजना गरेको नेपाल सहकारी विकास साझेदारी कार्यक्रम, नेपालमा सहकारीको आगामी पुस्ताको लागि ढाँचाको तयारी सम्बन्धी कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन ।

साना किसान ग्रामीण क्षेत्रसम्म पुग्न सफल भएको भन्दै मन्त्री अर्यालले भनिन, ‘तपाईहरु गाउँसम्म पुग्नुभएको छ । अझ निम्नस्तरसम्म पुग्नेगरी अगाडि बढ्नु होस ।’

सहकारी माथि ठूलाका हातमा भए र तिनीहरूले फाइदा लिए भन्ने गुनासो आइरहेको भन्दै उनले अब सहकारी संस्थाहरू राष्ट्रिय आम्दानीमा योगदान दिनेगरी अगाडि बढ्नुपर्ने धारणा राखिन् । उनले आम मान्छेको जीवन बदल्नेगरी सहकारीले योगदान दिनुपर्ने बताइन् ।

उनले भनिन, ‘राष्ट्रिय आम्दानीमा ठूलो योगदान दिनेगरी अगाडि बढ्नु होस, मानिसको जीवन बदल्ने अभियानको अभियन्ता सहकारी हो भन्ने कुरा व्यवहारबाट पुष्टि गर्नुहोस ।’

अब परम्परागत खेती प्रणाली फेरेर मुलुक प्रगतिको दिशामा अघि बढ्नुपर्ने भन्दै उनले जमिन बाँझो राखेर समृद्ध हुन नसकिने बताइन् ।

‘भूमि साधन पनि हो स्रोत पनि हो , पूँजीको महत्वपूर्ण स्रोत नेपालका लागि भूमिनै हो’ उनले भनिन् ।

अब भूमिको व्यवस्थापन उपयोगका आधारमा गर्नुपर्छ, मन्त्री अर्यालले थपिन, ‘अब भूमिको प्रयोग यसरी गर्नुपर्छ भनेर राज्यले कानुन बनाएर निजी सम्पत्तिको सदुपयोग उचित ढंगले गर्नुपर्छ र उपयोगका आधारमा भूमिको व्यवस्थापन गर्नुपर्छ ।’

भूमि व्यवस्थापन उपयोगका आधारमा हुने भन्दै उनले व्यवसायिक बन्नका निम्ती ऐन, कानुनले पनि प्रबन्ध गरेको बताइन् । अब उत्पादनमूलक कार्यलाई जोड दिएर अघि बढ्ने उनले सुझाव दिइन् ।

उनले थपिन, ‘बाँझो भएको जमिनको प्रयोगबाट कति परिवारका कति सदस्यलाई रोजगारी दिन सकिन्छ ? त्यो योजनाका साथ हामी अगाडि बढ्छौ, बजारले के खोज्छ र माटोमा के उत्पादन उपयुक्त हुन्छ त्यसका आधारमा हामी व्यवसायिकरणमा जानुपर्छ ।’

पछिल्लो समय नेपालले तरकारीमा प्रगति गरिरहेको बताउदै मन्त्री अर्यालले फलफूलको सन्दर्भमा भने नेपाली बजार भारतीय फलफूलले ढाकेको अवस्था रहेको बताएन ।

उनले गाउँलाई केन्द्रित गरेर उत्पादनलाई जोड दिनुपर्ने समेत बताइन् ।

‘गाउँको आर्थिक विकास गर्ने भनेको कृषिको व्यवसायिकरण नै हो । अब हामीले कृषिमै फर्किने हो । हिजोको कृषि र आजको कृषिमा फरक पार्ने हो ।’

अब गाउँगाउँमा सहकारीको मोडलमा सामूहिक फार्महरू सञ्चालन गर्नुपर्ने भन्दै मन्त्री अर्यालले जनतालाई काम गर्नका निम्ती झञ्झट बनाउने खालको कानुनका बाधाहरू फुकाउनुपर्ने बताइन् । त्यसका लागि मन्त्रालय अगाडि बढिसकेको समेत जानकारी दिइन् ।


क्लिकमान्डु