सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई छाडिँदैनः उपप्रधानमन्त्री पोखरेल



काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक जग्गा अतिक्रमण गर्ने जोकोहीलाई पनि नछाडिने बताएका छन् ।
काठमाडौँ क्षेत्र नं ५ का नेकपाका जनप्रतिनिधिसँगको अन्तरक्रिया कार्यक्रममा उहाँले काठमाडौँमा अधिकांश खाली ठाउँ मासिनु दुःखद् पक्ष भएको बताए ।

“सार्वजनिक जग्गा मास्ने नेकपाकै नेता कार्यकर्तालाई पनि हामी जोगाउँदैनौँ”, उनले भने, “त्यस्ता व्यक्तिलाई पार्टीले कारवाही गर्छ ।” उपप्रधानमन्त्री पोखरेलले मन्दिर बनाउने बहानामा खाली ठाउँ मास्ने क्रम अझै नरोकिएको बताए । आफूसँग नआउन आग्रह गर्दै विकास निर्माणका कामका लागि आफू जति बेला पनि तयार रहेको बताए । उनले जनप्रतिनिधिले पार्टीसँग समन्वय र सहकार्य गरेर काम गर्नुपर्ने भन्दै छिटो, छरितो र प्रभावकारी सेवा प्रदानमा ध्यान पु¥याउनु पर्नेमा जोड दिए ।

उपप्रधानमन्त्री पोखरेलले क्षेत्र नं ५ को विकासका लागि सबै जनप्रतिनिधिबीच एकता र समन्वयको खाँचो रहेको बताए । उनले कानूनको अभावमा सङ्घ, प्रदेश र स्थानीय सरकारको काम, कर्तव्य र अधिकारको क्षेत्रमा अलमल देखिए पनि कानूनले पूर्णता पाएपछि छिट्टै समस्या हट्ने बताए । विकास निर्माणमा बाधक बनेको सार्वजनिक खरीद ऐनलाई बदल्न लागिएको भन्दै उनले ऐन संशोधन गरेपछि विकास निर्माणका काममा हुने गरेका अवरोध हट्ने विश्वास दिलाए ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँमा एकीकृत विकासको योजनालाई अघि सारिएको बताए । “उपत्यकाको विकासका साझा एजेण्डालाई पहिचान गर्दैछौँ” उनले भने, “उपत्यका नगरपालिका फोरम बनाएर काम गर्दैछौँ, त्यसको नेतृत्व मैले गरेको छु ।” पाँच वर्षमा हुने विकासलाई एकै वर्षमा देख्न खोजेर नहुने उनको भनाइ थियो ।

प्रदेशसभा सदस्य नारायण सिलवालले तीन तहका सरकारबीच समन्वयको अभाव हुँदा विकास निर्माणका काम प्रभावित भएको बताउनुभयो । प्रदेशसभा सदस्य दीपक निरौलाले वर्तमान सरकारबाट नागरिकले धेरै आशा गरेको बताए ।


क्लिकमान्डु