सिभिल बैंकमा समृद्धि देखिएन, विकास बैंकभन्दा कम नाफा



काठमाडौं । ‘समृद्धिका लागि सिभिल बैंक’ सिभिल बैंकको नारा हो ।

देशलाई सम्बृद्धि बनाउने अभियानमा हिडेको कान्छो वाणिज्य बैंक सिभिल बैंकको वित्तीय विवरणमा भने सम्बृद्धि छाएको छैन ।
सिभिल बैंकले गत आर्थिक वर्षमा ७६ करोड रुपैयाँ नाफा गरेको छ । यो वाणिज्य बैंकहरुमा सबैभन्दा कम हो ।

पछिल्लो समय आएको वाणिज्य बैंक हुँदा अरुको भन्दा नाफा कम हुनु स्वभाविक नै भयो । सिभिल बैंकलाई नाफामा यो वर्ष राष्ट्रिय स्तरका २ वटा विकास बैंकले जितेका छन् ।

राष्ट्रिय स्तरका विकास बैंकहरु मुक्तिनाथ विकास बैंक र महालक्ष्मी विकास बैंकले नाफामा सिभिल बैंकलाई जितेका छन् । मुक्तिनाथको नाफा ८२ करोड १९ लाख रुपैयाँ रहेको छ । महालक्ष्मीको ८० करोड रहेको छ ।

सिभिल बैंकले गतवर्ष नाफा भने २० प्रतिशतले बढाएको छ । सिभिल बैंकको अघिल्लो वर्ष नाफा ६२ करोड ९८ लाख रुपैयाँ थियो ।
सिभिल बैंकले सेयरधनीलाई बाड्न मिल्ने नाफा ५५ करोड ६९ लाख रुपैयाँ गरेको छ ।

८ अर्ब ३३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको सिभिल बैंकमा १ अर्ब ६१ करोड रुपैयाँ रिजर्बमा छ । बैंकले सेयरधनीलाई ७ प्रतिशत लाभांश बाड्न सक्छ । यो भनेको सिभिल बैंकले मुद्दती निक्षेपमा दिने ब्याजदरभन्दा कम हो ।

सिभिल बैंकमा असार मसान्तसम्ममा ४२ अर्ब निक्षेप छ । कर्जा रकम भने ४२ अर्ब ६९ करोड रहेको छ । सिभिल बैंकमा निक्षेपभन्दा बढी कर्जा छ ।

बैंकले अघिल्लो वर्षको तुलनामा स्प्रेडदर भने घटाएको छ । अघिल्लो वर्ष ४ प्रतिशत रहेको बैंकको स्प्रेडदर यो वर्ष ३.७६ प्रतिशतमा रहेको छ । बेसरेट अघिल्लो वर्षभन्दा घटेको छ । अघिल्लो वर्ष ११.८४ प्रतिशत रहेको बेसरेट यो वर्ष घटेर ११.११ प्रतिशत रहेको छ ।

सिभिल बैंकको पूँजीकोष अनुपात भने १७.९७ प्रतिशत छ । राष्ट्र बैंकले तोकेको भन्दा प्रयाप्त पूँजीकोष सिभिल बैंकको रहेको छ ।


क्लिकमान्डु