चेम्बर धादिङले भन्यो- ह्वासिन सिमेन्टमा भएको अवरोध खेदजनक




काठमाडौं । चिनियाँ लगानीको ह्वासिन सिमेन्ट उद्योग फिर्ता गराउने गरी पछिल्ला दिनमा भइरहेको गतिविधिप्रति धादिङ चेम्बर अफ कमर्सले आपत्ति जनाएको छ ।

नेपाल सरकार वैदेशिक लगानी भित्राउनका लागि लागी परिरहेको अवस्थामा नेपालमा आइसकेको वैदेशिक लगानीलाई सहजीकरण गर्नुको साटो अनेकन बाहनामा लगानीनै फिर्ता हुने गरी गतिविधि गरिनु दुखद भएको चेम्बर धादिङको ठहर छ ।

८० प्रतिशत चिनियाँ लगानीमा धादिङको बेनिघाट–रोराङ गाउँपालिका २ ताल्तीमा निर्माणधिन सिमेन्ट उद्योग धादिङ जिल्लाको गौरवको विषय भएको र उक्त उद्योग स्थापनापछि स्थानीयले क्षमता अनुसारको रोजगारी पाउने तथा देशको आर्थिक विकासमा धादिङको छुट्टै योगदान र पहिचान बन्ने भएकाले कुनै पनि अवरोध नगर्न आग्रह गरिएको छ ।

धादिङ चेम्बरका अध्यक्ष गोविन्द कुमार श्रेष्ठका अनुसार उद्योग स्थापनाको प्रक्रिया अघि बढीरहेको बेला भइरहेका विभिन्न खाले अवरोधप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको छ ।

उद्योग सञ्चालनका लागि केही जग्गा कम्पनीले खरिद गरेको, केही सार्वजनिक जग्गा भाडामा लिएको कुरा सर्वविधिदै छ । सार्वजनिक जग्गा जमिनहरु लिजमा लिइ उद्योग स्थापना गर्नका लागि सरकारको छुट्टै नियम समेत रहेको चेम्बरले स्मरण गराएको छ ।

ह्वासिङ सिमेन्ट उद्योगले स्थानीय निकायसँग जग्गा लिजमा लिने सम्झौतामा कुनै त्रुटी भएको भए स्थानीय जनतासँगको समन्वयमा नै समस्याको समाधान गर्न सकिने अवस्था कायम रहँदा रहँदै अनावश्यक तरिकाले सम्झौता नै खारेज गराउने तर्फ भइरहेको व्यापार औद्योगिक वातावरण निर्माण हुन नदिने र समृद्धिको बाधक समेत रहेको चेम्बरको दाबी छ ।

केही दिन पहिले संसदको सार्वजनिक लेखा समितिले जग्गा भाडा सम्बन्धि विषय कानूनसम्मत नभएको भन्दै खारेज गर्न सरकारलाई निर्देशन दिएको थियो ।


क्लिकमान्डु