एनसेल लाभकर विवादः फैसला एक साता सर्यो




काठमाडौं । एनसेल बिक्री लाभकर निर्धारणका लागि विवादमा सर्वोच्च अदालतले निर्णय सुनाउने मिति एक साता पछि सारेको छ ।

बिहीबार न्यायाधीश तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बरबहादुर शाही, सुष्मलता माथेमा र डा. मनोजकुमार शर्माको पूर्ण इजलासले आगामी भदौ ५ गते बिहीबारका लागि निर्णय सुनाउने मिति तोकेको हो ।

यसअघि पनि सर्वोच्च अदालतले बैशाख २४ गते लाभकर असुली प्रक्रिया यथास्थितीमा राख्न एकल इजलासले दिएको आदेशलाई निरन्तरता दिएको थियो ।

प्रधानन्यान्याधीश चोलेन्द्र शमशेर जबरासहित न्यायाधीशहरू मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको ५ सदस्यीय बृहत पूर्ण इजलासले २०७५ माघ २३ गते एनसेलले लाभकर तिर्नुपर्ने फैसला गरेको थियो ।

अदालतले एनसेलले कर नतिरेसम्म कसैलाई पनि लाभांश वितरण र सेयर बिक्री अनुमति नदिनु भन्ने पूर्ण इजलासले परमादेश जारी गरेको थियो ।

सो फैसलापछि ठूला करदाता कार्यालयले एनसेलमाथि ६२ अर्ब ६३ करोड रुपैयाँ कर निर्धारण गरेको थियो । यसमध्ये करिब साढे ३९ अर्ब रुपैयाँ एनसेलले बुझाउन बाँकी थियो ।

एनसेलले साढे १४ अर्ब रुपैयाँ मात्र कर निर्धारण हुनुपर्ने भन्दै आदेशमा चित्त नबुझेपछि २०७६ बैशाख ९ मा सर्वोच्च अदालतमा अर्को रिट दायर गरेको थियो ।


क्लिकमान्डु