श्री एयरलाइन्सले पायो भारत र बंगलादेशका लागि उडान अनुमति




काठमाडौं । दुई वर्षअघि आन्तरिक उडान सुरु गरेको श्री एयरलाइन्सले बुधबार ५ वटा अन्तर्राष्ट्रिय नयाँ गन्तव्यका लागि अनुमति पाएको छ ।

श्री एयरलाइन्सका महाप्रबन्धक अनिल मानन्धरले क्लिकमाण्डूसँग भने, ‘भारतका ४ वटा सहर र बंगलादेशको एउटा सहरमा उडानका लागि अनुमति पाएका छौं, आजै पत्र पनि बुझ्यौं ।’

उनका अनुसार भारतका दिल्ली, बैग्लोर, कलकत्ता र अहमदाबाद र बंगलादेशको राजधानी ढाकाका लागि उडानको अनुमति पाएको हो ।

श्रीसँगै अन्तर्राष्ट्रिय उडान गर्ने नेपाली विमानको संख्या ४ पुगेको छ । अहिले नेपाल एयरलाइन्स, बुद्ध एयर र हिमालयन एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गरिरहेका छन् ।

अब कम्पनीले नागरिक उड्ययन प्राधिकरणबाट उडानको अनुमति लिनुपर्नेछ ।

मानन्धरका अनुसार अब दिल्ली र भारतको एभिएसनबाट कस्तो जवाफ आउँछ सोही अनुसार सक्दो छिटो उडान गरिनेछ । उनले भने, ‘एकै पटक सबै ठाउँमा गर्दैनौ, सुरुमा २ वटा ठाउँबाट उडान सुरु गर्छौ ।’

सन् २०१७ अगस्ट ११ तारिखदेखि आन्तरिक उडान सुरु गरेको कम्पनीसँग ७० सिटे २ वटा, ५० सिटे २ वटा जहाज छन् । साथै थप २ वटा जहाँ ल्याउने तयारी गरेको छ । मानन्धरका अनुसार अर्को साता एउटा जहाज आइपुग्नेछ ।

एयरलाइन्ससँग एचईएमआई ७० हेलिकप्टर ६ वटा छन् ।


क्लिकमान्डु