जनताको हितको लागि बैंकमा सिइओ र सञ्चालकलाई उमेर हद लगाएको हो: गभर्नर



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरन्जिवी नेपालले ९२ प्रतिशत जनताको हित हेर्नको लागि बैंक तथा वित्तीय संस्थामा संचालक तथा प्रमुख कार्यकारी अधिकृतको उमेर हद तोकिएको बताएका छन् ।

बुधबार प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिको बैठकमा बोल्दै राष्ट्र बैंकका गभर्नर नेपालले सर्बोच्च अदालतको अन्तरिम आदेश औपचारिक नआएको बताउदै अदालतले हाम्रो कुरा राख्न नपाउदै अन्तरिम आदेश जारी गरेको बताए ।

राष्ट्र बैंकले साउन २२ गते बैंक तथा वित्तीय संस्थाका सिइओ र प्रमुख कार्यकारी अधिकृतलाई उमेर हद तोकेको थियो ।

जसबाट प्राइम बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धर अवकास पाएका थिए । मानन्धरले राष्ट्र बैंकको निर्देशिका विरुद्द सर्बोच्च गएका थिए । सर्बोच्चले मंगलबार मानन्धरलाई काममा फर्कन र कानून निर्माण नगरि उमेरहद तोक्नु संविधान विपरित भएको ठहर गरेको छ ।

गभर्नर नेपालले उमेरहद तोक्ने निर्देशिकाको बचाउ गर्दै अर्थसमितिको बैठकमा भने,‘जनताको करबाट तलब खानेको उमेर हद ५८ छ,जनताको पैसाबाट चल्नेलाई ६५ तोकेको हो।’

गभर्नर नेपालले संसारमा कोही नभएको बिलक्षण प्रतिभा नेपालमा रहेको भन्दै वाणिज्य बैंकमा ९४ वर्षको अध्यक्ष र ८० वर्ष पुगेको व्यक्ति सिइओ रहेको बताए ।

उमेरहद तोक्ने व्यवस्था खारेज गर्दै राष्ट्र बैंकलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको छ । अर्थसमितिको बैठकमा गभर्नर नेपालले जनताको पैसाको हित हेर्नको लागि उमेरहदको निर्देशिका तोकेको बताए ।

‘विश्वव्यापी मान्यताको आधारमा हामीले उमेर हद तोकेको हो, सर्बोच्च अदालतमा प्रधान्यायधीशको उमेर हद ६५ वर्ष छ,’ गभर्नर नेपालले भने ।


क्लिकमान्डु