सहकारीलाई अब नियन्त्रण नगर्ने हो भने दुई वर्षपछि भयानक दुर्घटना हुन्छः मन्त्री अर्याल



काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले वित्तिय संस्थामा मौलाउदै गरेको विकृति नियन्त्रण गर्ने दिशातर्फ जानुपर्ने बताएकी छिन् । स्वावलम्बन विकास केन्द्रको २८ औं वार्षिकोत्सब कार्यक्रममा मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् ।

लघुवित्त संस्था र सहकारीको प्रकृती उस्तै उस्तै भएको भन्दै मन्त्री अर्यालले संस्था ठूलो बन्दै जाँदा झन राम्रो हुनुपर्नेमा केही समस्याहरु उत्पन्न हुँदै गएको बताइन् । तर त्यसलाई सिस्टमबाटै नियन्त्रण गरिने उनको भनाई छ । ‘संस्था ठूलो भएपछि र हाम्रा मानसिकताहरु विकृत बन्न थालेपछि विधि, विधानले नै समात्ने हो । त्यो भन्दा अर्को विकल्प नै छैन’, मन्त्री अर्यालले भनिन्, ‘अब सिस्टमबाटै समस्या ति समस्याको समाधान गर्ने हो । हामीले अवलम्बन गरेका विधिविधानमा केही समस्या छ भने त्यसलाई सच्याउ ।’

धेरै संरचनाहरु निर्माण भइरहेको अवस्थामा हिजो भन्दा कडा खालका विधि, नियम बनाएर संस्थाका मान्छेको आचरण सुधार गरिने उनले बताइन । उनले भनिन्, ‘संस्थालाई पारदर्शी बनाउने र मौलाउदै गरेको विकृति नियन्त्रण गर्ने दिशामा हामी जानुपछै ।’

सरकारले अहिले सहकारीको समस्या समाधान गर्न लागिरहेको भन्दै उनले सहकारीलाई बेलैमा नियन्त्रण नगरिएमा भयानक दुर्घटनाको खतरा रहेको संकेत गरिन । ‘सहकारीलाई अब साँच्चिकै नियन्त्रण नगर्ने हो भने दुई वर्ष पछि भयानक दुर्घटनाको संकेत देखा परेको छ’, उनले भनिन्, ‘यसलाई अब नियन्त्रण गर्नुपर्छ । हामीले केही कोशिस सहकारी नियमावलीमार्फत गरेका छौ ।’

एउटा मान्छे धेरै संस्थामा बस्ने समस्याको नियन्त्रण अब सिस्टमबाटै गरिने उनको भनाइ थियो । सहकारी कर्जा कोष यस अघि नै भाषण धेरैपटक भएपनि अब व्यवहारमै लागु हुनेगरी कार्यान्वयन गरिने उनले बताइन । नियमावलीमा सहकारीको कर्जा सुरक्षा कोष केन्द्रको स्थापना गरिएको बताउँदै त्यसमार्फत अहिले भइरहेको विकृतिको अन्त्य गर्न सहयोग पुग्ने उनको भनाई छ । ‘सिस्टम सफ्टवेरले एउटा सहकारी संस्थामा बदमासी गरेर त्यहाँ पुरै गिरेर पतित भएर ठाउँ परिवर्तन गरेर फेरी सहकारी संस्थाको मालिक भएर त्यस्तै खालको गतिविधि गर्ने प्रवृतिको अन्त्य हुन्छ’, उनले भनिन् ।

मन्त्री अर्यालले मन्त्रालयले अहिले गरिब पहिचानको काम भइरहेको भन्दै अब गरिब पहिचानमा पनि प्रविधिको प्रयोग गरेर समस्या उत्पन्न नहुनेगरी काम सम्पन्न गरिने जानकारी गराइन ।


क्लिकमान्डु