१०० रुपैयाँ अतिरिक्त शुल्क लिएको विषयमा पठाओले दियो स्पष्टिकरण



काठमाडौं । राइड सेयरिङ कम्पनी पठाओले सुरु गरेको ‘कार लाइट’ सेवाका विषयमा १०० रुपैयाँ बढी शुल्क लिएको भन्दै चर्को आलोचना भएपछि स्पष्टिकरण दिएको छ ।

मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै पठाओले कम्पनीले अतिरिक्त शुल्क नलिएको दाबी गर्दै उक्त शुल्क यथोचित भएको जिकिर गरेको छ ।

कम्पनीका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले भने, ‘अतिरिक्त शुल्क लिएका छैनौं, वैज्ञानिक ढंगले शुल्क तोकेका हौं ।’

उनका अनुसार १०० रुपैयाँभित्र ट्याक्सी सेवाका लागि सुरुको मिटर अन गर्दाको शुल्क १४ रुपैयाँ पनि जोडिएको छ ।

साथै ३ किलोमिटरको दुरीसम्मबाट ग्राहकलाई लिन जानुपर्दाको अतिरिक्त इन्धन र खर्च वापतको रकमहरु पनि यसमा समावेश गरिएको छ ।

साथै फोनकल तथा निरन्तर अनलाइन बसी कार्य गर्नका लागि चाहिने इन्टरनेट लगायतको खर्च तथा ट्राफिक जाम तथा ग्राहकका चाहना बमोजिम कुर्नुपर्ने अवधिका लागि लाग्ने वेटिङ चार्ज वापतको सेवा अवधिका लागि प्रति मिनेट १ रुपैयाँका दरले मूल्य समायोजन गरिएको हो ।

बस्न्यातले अहिले ट्याक्सी चालकहरुले भाडा बढाउनु पर्ने मागका कारण पनि १ सय रुपैयाँ तोकिएको बताए ।

एक वर्ष अगाडिदेखि सुरु भएको यो सेवाले सुरुमा मोटरसाइकल र गत सातादेखि कार लाइट सेवा समेत सुरु गरेको हो । बस्न्यातले अहिले निजी कारहरु प्रयोग नभएको दाबी गर्दै कालो नम्बर प्लेटका ६ सय ट्याक्सीले सेवा दिइरहेको बताए ।

छोटो समयमा नै लोकप्रिय बनेको यो एप अहिलेसम्म काठमाडौंमा ५ लाख पटक डाउनलोड भइसकेको छ । जसमार्फत ४० हजार जना राइडरले सेवा दिइरहेका छन् । भने जसमा २० प्रतिशत महिला राइडरहरु सहभागी भइसकेका छन् ।


क्लिकमान्डु