एनसेल र धुलिखेल हस्पिटलबीच टेलिमेडिसिन र हेल्थ इन्फर्मेटिक्स्का लागि सम्झौता




काठमाडौं । एनसेलले धुलिखेल हस्पिटल–काठमाडौ युनिर्भसिटी हस्पिटलसँग टेलिमेडिसिन र हेल्थ इन्फर्मेटिक्स कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

प्रविधि तथा तथ्यांकमा आधारित स्वास्थ्य सेवा प्रदान गर्ने विधि अपनाई ग्रामीण, दुरदराजका सेवाबाट बञ्चित समूदायलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि उक्त कार्यक्रम ल्याइएको एनसेलले जानकारी दिएको छ ।

यस पहल अन्तर्गत एनसेलले टेलिमेडिसिन उपकरण र सेवा प्रवाहका लागि आवश्यक कनेक्टिभिटी पूर्वाधार निर्माण गरी धुलिखेल हस्पिटललाई हस्तान्तरण गर्नेछ ।

यसका साथै २ वर्षका लागि यो कार्यक्रमको संचालन गर्न आवश्यक पर्ने अन्य स्थानीय आपूर्ती र सेवाहरु खरिदका लागि एनसेलले आर्थिक सहायता पनि धुलिखेल हस्पिटललाई प्रदान गर्नेछ ।

धुलिखेल हस्पिटलका तर्फबाट मानव संशाधन जस्तै चिकित्सक र परामर्शदातालगायत कार्यक्रम सञ्चालनका लागि आवश्यक अन्य सहयोगहरु प्रदान हुनेछ ।

हस्पिटलले कार्यक्रमलाई सफलतापूर्वक संचालन गर्न आवधिक ट्रेनिङ र अनुगमन लगायतका कामहरु पनि गर्नेछ ।

साथै धुलिखेल हस्पिटलमा ‘एनसेल, धुलिखेल हस्पिटल–काठमाडौं युनिभर्सिटी हस्पिटल टेलिमेडिसिन एण्ड हेल्थकेयर इन्फर्मेटिक्स् सेन्टर’ स्थापना हुनेछ ।

यस सेन्टरले टेलिमेडिसिन र हेल्थ इन्फर्मेटिक्स्सँग सम्बन्धित कार्यहरु तथा नवीन खोजका बारेमा निर्देश गर्नेछ ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डि चोङ र धुलिखेल हस्पिटलका निर्देशक डा. रमेश मकाजुले सोमबार एक कार्यक्रम माझ टेलिमेडिसिन र हेल्थकेयर इन्फर्मेटिक्स कार्यक्रम सञ्चालन गर्न सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

यस सहकार्यबाट उत्साहित धुलिखेल हस्पिटलका निर्देशक डा. रमेश मकाजुले भने, ‘हाम्रो भिजन भनेको नेपालमा नै यस्तो प्रकारको पहिलो हेल्थ इन्फर्मेटिक्स सेन्टरको विकास गर्नु हो जहाँ सिक्दै, नवीन खोज गर्दै तथ्यांकमा आधारित विधि अपनाइ बहु आयामिक दृष्टिकोणबाट स्वास्थ्य क्षेत्रको विकास गर्न सकियोस् । नेपालको स्वास्थ्य क्षेत्रका बारेमा एनसेलको दूरदर्शी दृष्टिकोण प्रति म कृतज्ञ छु ।’

यस सहकार्य अन्तर्गत संचालन हुने कार्यक्रमका बारेमा आफ्नो धारणा राख्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डि चोङ्गले भने, ‘यो कार्यक्रम एनसेलको व्यवसायिक सामाजिक उत्तरदायित्वको फ्रेमवर्क र संयुक्त राष्ट्रसंघको दीगो विकास लक्ष्यहरु मध्येको एक भित्र पर्दछ ।’


क्लिकमान्डु