स्प्रेडको गणनाविधि परिवर्तन गर्दा बैंकको नाफा ३० अर्बले घट्ने, सरकारलाई ९ अर्ब घाटा
काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्देशिका मार्फत कार्यान्वयनमा ल्याएको स्प्रेडदर गणना विधिले बैंकको नाफा ३० अर्बले घट्ने भएको छ ।
नेपाल बैंकर्स संघले बैठकपछि जारी गरेको विज्ञप्तीमा बैंकहरुको नाफा ३० अर्ब रुपैयाँले घट्ने जनाएको छ ।
बैंकहरुको नाफा ३० प्रतिशतले घट्दा सरकारलाई ९ अर्ब रुपैयाँले राजस्व घाटा हुन्छ । बैंकहरु सबैभन्दा बढी कर तिर्ने संस्थामा पर्छन् ।
यस्तै राष्ट्र बैंकले गरेको २ प्रतिशत बफर क्यापिटलको व्यवस्थाले बैंकहरुले १ खर्ब ५० अर्ब रुपैयाँको ऋण लगानी गर्न नसक्ने अवस्थामा अहिले पुगेका छन् ।
बफर क्यापिटलको व्यवस्थाले १४ बैंकले तत्काल पूँजीकोष २ प्रतिशतले बढाउनुपर्ने हुन्छ ।
‘सरकारले बजेटमा मार्फत लिएको साढे ८ प्रतिशतको आर्थिक बृद्धिदर गर्ने लक्ष्य प्रभावित हुन्छ,मौद्रिक नीतिले २१ प्रतिशत कर्जा बढाउने नीति समेत कार्यान्वयन हुन सक्दैन,’संघले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
यस्तै बैंकर्स संघले राष्ट्र बैंकले बैंकासुरेन्समा रोक लगाउदा बीमाको दायरा बढाउन नसकिने जनाएको छ ।