पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढ्यो, ग्यास भयो सस्तो



काठमाडौं । नेपाल आयल निगमले साउन २१ गते राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य वृद्धि गरेको छ ।

निगमका प्रवक्ता बीरेन्द्र गोइतका अनुसार पेट्रोल र डिजलमा १ रुपैयाँ, र मट्टितेलमा ५० पैसा वृद्धि गरिएको हो ।

त्यस्तै, एलपी ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँका दरले मूल्य घटाइ मूल्य समायोजन गरिएको हो ।

जसअनुसार पेट्रोल तथा डिजेल र मट्टितेलको हकमा काठमाडौ थानकोट डिपोबाट १५ कि.मि. क्षेत्रभित्र नयाँ खुद्रा बिक्री मूल्य र एलपि ग्यासको खुद्रा बिक्री मूल्य काठमाडौंको हकमा पेट्रोल प्रतिलिटर १०९ रुपैयाँ, डिजल र मट्टितेल प्रतिलिटर ९७ रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै, एलपि ग्यासको प्रति सिलिण्डर १ हजार ३७५ रुपैयाँ कायम गरिएको छ । त्यस्तै, हवाई ईन्धनको हकमा खुद्रा बिक्री मूल्य यथावत राखिएको छ ।

निगमले आर्थिक वर्ष २०७५/७६ मा एलपि ग्यासमा करिब ६ अर्व रुपैयाँ नोक्सानी व्यहोरेको निगमको भनाइ छ ।

जसको कारणले हालसम्म स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन हुन सक्ने अवस्था नआएको निगमको दाबी छ ।

यसरी मूल्य समायोजन गरे पश्चात पनि वीरगञ्ज नाकामा नेपालतर्फको मूल्य रक्सौलको मूल्यको तुलनामा पेट्रोल र डिजलमा प्रति लिटर क्रमशः १४.३७ रुपैयाँ र १५.४७ रुपैयाँ सस्तो भएको छ ।


क्लिकमान्डु