कर्णालीमा ६ सयभन्दा बढी कर्मचारी अपुग



सुर्खेत । कर्णाली प्रदेश सरकारले ६०० बढी कर्मचारी अपुग रहेको जनाएको छ । समायोजनबाट समेत कर्मचारी व्यवस्थापन हुन नसक्दा कर्णालीमा अझै कर्मचारीको अभाव रहेको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सूचना अधिकारी केशवप्रसाद उपाध्यायले समायोजनमा कर्णाली प्रदेश रोजेका कर्मचारी हाजिर हुने क्रममै रहेको बताए । “हालसम्म ९३६ कर्मचारी हाजिर भइसकेका छन, ३९८ कर्मचारी हाजिर हुन बाँकी छ”, उनले भने । “यहाँ तोकिएको दरबन्दीभन्दा ६०० बढी कर्मचारीले प्रदेश रोज्न चाहेनन, यस वर्ष पनि सरकारले कर्मचारीको समस्या भोगिरहनु पर्ने अवस्था छ ।” उनले ६५८ कर्मचारीको अपुग रहेको बताए ।

समायोजनका क्रममा कर्णाली प्रदेशका लागि एक हजार ९९२ कर्मचारीको दरबन्दी छुट्याइएको थियो । एक हजार ३३४ कर्मचारीले मात्रै कर्णालीलाई रोजेका थिए ।

कर्णालीलाई सबैभन्दा बढी प्राविधिक समूहका कर्मचारीहरुको अभाव रहेको छ । माथिल्लो तहका प्राविधिक कर्मचारीहरुले कर्णाली आउन नचाहेकाले योजना तथा पूर्वाधारका कार्यक्रमहरु सञ्चालन समस्या हुने उनको भनाइ छ ।

मुख्यमन्त्री कार्यालयका सूचना अधिकारी उपाध्यायका अनुसार समायोजनपछि कर्णाली प्रदेशमा हाजिर हुन आएका कर्मचारीहरुमा प्रशासनतर्फ ३४०, लेखातर्फ १२२, राजश्व उपसचिवतर्फ एक कर्मचारी रहेका छन ।

त्यस्तै, वनतर्फ हाजिर हुन आएका २८२ कर्मचारीमध्ये सबैभन्दा धेरै श्रेणीविहीन वनरक्षक २४० हाजिर भएका छन । इञ्जिनीयरिङ ५९, कृषितर्फ १०३, योजना तथा तथ्याङ्कमा छ, विविधमा २९, स्वास्थ्यतर्फ तीन कर्मचारीहरु कर्णालीमा हाजिर भएका छन । सरकारले ठूलो सङ्ख्यामा कर्मचारी अभाव हुँदा दैनिक प्रशासन सञ्चालनदेखि विकास योजना सञ्चालन गर्नसमेत समस्या हुने गरेको बताएको छ ।


क्लिकमान्डु