अब बैंकहरुले बीमा कम्पनीको एजेन्ट भएर बीमा पोलिसी बेच्न नपाउने



काठमाडौं । बैंकहरुले अब बीमा एजेन्टको रुपमा काम गर्न पूर्णतया नपाउने भएका छन् ।

राष्ट्र बैंकले सोमबार बैंक तथा वित्तीय संस्थालाई निर्देशिका जारी गर्दै यस्तो व्यवस्था गरेको हो । यो व्यवस्था राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिमा पनि उल्लेख रहेको थियो ।

राष्ट्र बैंकले निर्देशिका जारी गर्दै बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन–२०७३ को दफा ४९ उपदफा १ को खण्ड ‘य’ उपदफा २ को खण्ड ‘झ’ र उपदफा ३ को खण्ड ७ बमोजिम इजाजत पाएको संस्थाहरुले भने राष्ट्र बैंकले तोकेका अन्य कार्य गर्ने व्यवस्था अन्तर्गत रहेर काम गर्न पाउने भएका छन् ।

यो व्यवस्था अनुसार कर्जा प्रवाहका क्रममा ऋणी स्वयमले छनौट गरेको बीमा कम्पनीबाट मात्र कर्जाको सुरक्षण स्वरुप राखिएको सम्पतिको बीमा गराउन, कर्जाको बीमा गराउन वा बिना धितो व्यक्तिगत जमानीमा मात्र प्रवाह भएका कर्जाको हकमा कर्जा अवधिसम्मको लागि ऋणीको आवधिक जीवन बीमा गराउन बाधा पुगेको नमानिने व्यवस्था गरेको जनाएको छ ।

यसअघि बैंकहरुले ग्राहकलाई जबरजस्ती बीमा पोलिसी बिक्री गर्दै आएका थिए । बैंकको यो व्यवहारबाट ग्राहकहरु आजित भएर राष्ट्र बैंकमा गुनासो गरेका थिए ।
धेरै उजुरी परेपछि राष्ट्र बैंकले बैंकहरुलले ग्राहकलाई दबाबमा पारेर बीमा पोलिसी बिक्री गर्न नपाउने व्यवस्था गरेको हो ।


क्लिकमान्डु