अर्थ समितिका सभापति दाहाल भन्छन्- उद्योग र बैंकमा एकै जनालाई लगानी गर्न बन्द गरौंं



काठमाडौं । अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहालले मौद्रिक नीति बैंकर्सहरुको पक्षमा आएको बताएका छन् ।

राजधानीमा आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको मौद्रिक नीतिले अर्थतन्त्रमा पार्ने प्रभाव विषयका कार्यक्रममा दाहालले मौद्रिक नीतिमा ऋण लिनेका पक्षमा भन्दा पनि ऋण दिनेको पक्षमा नीति बढी आकर्षित देखिएको बताए ।

उनले बैंकहरुले लिने ब्याजदर बढी भएको भन्दै केही प्रतिशत भएपनि घटाउनु पर्ने बताए । उनले बैंकहरुले प्राथमिकता प्राप्त क्षेत्रमा गर्नुपर्ने लगानी कम गरेको भन्दै उक्त कर्जा प्राथमिकताका साथ प्रवाह गर्न राष्ट्र बैंकले खेल्नु पर्ने भूमिका प्रभावकारी हुनुपर्ने बताए ।

उनले भने, ‘अहिले जसको बैंकमा लगानी छ यसैको उद्योग पनि छ, उसैले व्यापार पनि गर्ने गरेको छ, यसले समस्या भएको छ, अब ऋण दिनेले व्यवसाय गर्न पाइँदैन ।’

यसले गर्दा केही व्यवसायीहरुमा मात्रै पैसा घुमिरहने उनको भनाइ छ । उनले सबैलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्न समेत आग्रह गरेका छन् ।

कार्यक्रममा उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले विश्वमा कही पनि नभएको सिस्टम नेपालमा भएकोले यो सिस्टम हटाउनु पर्ने बताए ।

कुनै उद्योगीको बैंकमा लगानी पनि हुने, उद्योग पनि उसैको हुने, व्यवसाय पनि उसैले गर्ने गरेको भन्दै यस्तो सिस्टम तत्काल हटाउन आग्रह गरेका छन् । उनले भने ‘यसले गर्दा सबै पैसा केही व्यक्तिहरुको वरिपरी घुमिरहेको छ ।

पैसा अन्य उद्योगी व्यवसायीकोमा पुगेन, साना लगानीकर्ताले कर्जा पाएनन्, अब यो विषयलाई संसदीय समितिहरुले हेर्नु पर्यो र यो हटाउन नीति नै बनाउनु पर्यो ।’
कार्यक्रममा सांसदहरुले किसानलाई सहज रुपमा ऋण नदिने बैंकलाई राष्ट्र बैंकले कारबाही गर्नु पर्ने माग गरेका छन् ।


क्लिकमान्डु