काठमाडौं महानगरपालिकाले ३९ ठाउँमा पार्क र बगैँचा बनाउँदै (सूचिसहित)



काठमाडौं । काठमाडौं महानगरपालिकाले ९५ करोड ९६ लाख रुपैयाँ बराबरमा ३९ वटा पार्क, बगैँचा तथा भवन निर्माण गर्ने भएको छ ।

त्यसका लागि महानगरपालिका अन्तर्गतको सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले सबै पार्क तथा भवनको नक्सा मेयर विद्यासुन्दर शाक्यलाई हस्तान्तरण गरिसकेको बताएका छन् ।

आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा बस्नेतले उक्त पार्क तथा भवनहरु सम्बन्धित वडा तथा महानगरपालिकाले बनाउने र त्यसको सुपरीवेक्षण, मोनिटरिङ आयोगले गर्ने जानकारी दिए ।

सबै नक्सा ३२ जना इन्जिनियरले ६ महिनामा तयार पारेको उनले बताए । यसको लागि लगभग ६० लाख रुपैयाँ खर्च भएको उनको भनाइ छ ।

आयोगले बनाएको नक्सामा विभिन्न ८ वटा पार्क, केही वडा कार्यालय, केही पाटी पौवा, केही बँगैचा समेत छन् ।

बस्नेतका अनुसार चेस पार्क, कमलपोखरी पार्क, पाटी पौवाको पूर्वाधार, वृद्धवृद्धाका लागि पार्क र भाटभटेनी सतलको पुन निर्माणको लागि टेन्डर आव्हान भइसकेको छ ।

४२ वटा नै आयोजना चालु आवमा निर्माण गर्ने महानगरपालिकाको नीति तथा कार्यक्रममा समावेश भएको उनको भनाइ छ । बाँकी अन्य योजनाको पनि केही समयमा नै काम सुरु हुने उनले जानकारी दिए ।

बस्नेतका अनुसार १० रोपनी जग्गामा गुहेश्वरीमा बाग्मती नगरपार्क निर्माण हुनेछ । यो पार्कको लागत ८ करोड रुपैयाँ छ ।  बस्नेतका अनुसार उक्त पार्क ९ ग्रह र सबै १२ वटा राशी अनुसारको बन्ने छ ।

यस्तै थापाथलीको बाग्मती पुलमुनी १ करोड ११ लाख रुपैैयाँमा चेस पार्क, गलगनमा ५ करोड लागतमा म्यूजिमय, १ करोड ११ लाखमा  त्रिपुरेश्वर खुला क्षेत्र पार्क बन्ने भएको छ ।

कतिपय योजना स्थानीय तहमा हुने आमा समूह, स्थानीय क्लबहरुको सहकार्यमा पनि पूरा हुने उनको तर्क छ । उनले भने ‘सबै योजना पूरा गर्न महानगरपालिका भन्दा पनि आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्न चाहेको खण्डमा उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्श, उद्योग परिसंघ, विभिन्न एनजीओ, आईएनजीओ, वल्र्ड बैंक जस्ता संस्थाको सहकार्यमा पनि आयोजना पूरा गर्न सकिन्छ ।’

बस्नेतले विकास निर्माण गर्नको लागि पैसाको अभाव नभएपनि कम लागतमा कसरी राम्रो काम गर्ने भन्नेमा महानगर रहेको बताए ।

उनले भने, ‘यतिबेला महानगरपालिकाले जनचाहना बुझ्दै निर्वाचनको समयमा जनप्रतिनिधिले जनतालाई दिएको आश्वासन पूरा गर्न पनि जनचाहना अनुसार काम गर्न आवश्यक रहेको छ ।’ 


क्लिकमान्डु