बजेटको आकारभन्दा व्यापारघाटा ६ अर्ब बढी



काठमाडौं । गत आर्थिक वर्षमा सरकारले ल्याएको बजेटको आकार रकम हो १३ खर्ब १५ अर्ब १७ लाख ।

यद्यपी सरकारले १० खर्ब ९३ अर्ब मात्र खर्च गरेको छ ।

गत आर्थिक वर्षमा व्यापारघाटा भने सरकारले ल्याएको बजेटको आकारभन्दा ६ अर्ब रुपैयाँले बढी छ ।

भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा १४ खर्ब १८ अर्ब रुपैयाँको बराबरको वस्तु भित्रिएको छ । यस्तै ९७ अर्ब १० करोड बराबरको वस्तु निर्यात भएको छ ।

जसले गर्दा नेपालको व्यापारघाटा १३ खर्ब २१ अर्ब रुपैयाँ भएको छ । अर्थात नेपाल सरकारले ल्याएको बजेटभन्दा व्यापारघाटाको आकार ६ अर्ब रुपैयाँले बढी छ ।

भन्सार विभागका अनुसार नेपालले गत आर्थिक वर्षमा १५८ वटा देशसँग व्यापार गरेको छ । जसमा २२ वटा देशसँगको व्यापार नाफामा छ । संख्या हेर्दा २२ वटा देशको व्यापार नाफा राम्रो होला तर,अत्यन्त न्यून रकमको सामान ति देशमा निर्यात भएको छ ।

नेपालको सबैभन्दा ठूलो व्यापारघाटा भारतसँग छ । भारतबाट नेपालले गतवर्ष ९ खर्ब १७ अर्ब रुपैयाँको सामान आयात गरेको छ । ६२ अर्ब ७३ करोड बराबरको सामान निर्यात गरेको छ ।

यस्तै चीनबाट २ खर्ब ५ अर्बको सामान आयात भएको छ भने २१ अर्ब बराबरको निर्यात भएको छ ।

सरकारले गतवर्ष आयात भएका वस्तुबाट मात्र ३ खर्ब ५४ अर्ब राजस्व उठाएको छ ।
सरकारले गतवर्ष ८ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व उठाएको दाबी गरेको छ । जसमा आयाति भएका वस्तुबाट उठेको भन्सार,भ्याट,अन्तशुल्कबाट ३ खर्ब ५९ अर्ब रुपैयाँ उठेको छ । यो भनेको कुल राजस्वमा आयातको हिस्सा ४१ प्रतिशत हो ।

कुल व्यापारबाट सरकारले ३ खर्ब ६२ अर्ब रुपैयाँ राजस्व उठाएको छ ।


क्लिकमान्डु