लघुवित्त वित्तीय संस्था गाभिँदा राष्ट्र बैंकले दिने भयाे यी ५ सहुलियत




काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने, गाभिने वा प्राप्ती भएमा राष्ट्र बैंकले ५ प्रकारका सहुलियत दिने व्यवस्था गरेको छ । बुधबार आर्थिक वर्ष २०७६÷७७ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा. चिरञ्जीवि नेपालले यस्तो व्यवस्था गरिएको जानकारी दिएका हुन् ।

जसमा एकल ग्राहक कर्जा सीमा नाघेको ऋणीको कर्जालाई सीमाभित्र ल्याउन थप गर्ने, तोकिएको पूँजीकोष अनुपात पुर्याउनुपर्ने समय थप गर्ने व्यवस्था गरिएको छ ।

साथै, सञ्चालक समितिका सदस्य र प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट हटेको कम्तीमा ६ महिना पूरा नभइ यस बैंकबाट इजाजत प्राप्त अन्य संस्थामा सञ्चालक वा अन्य कुनै पनि हैसियतमा काम गर्न नपाउने विद्यमान व्यवस्था हटाइएको छ ।

स्वीकार योग्य धितो लिइ समूहमा आवद्ध भएका तथा नभएका गाउँपालिका क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरुलाई लघुवित्त वित्तीय संस्थाहरुबाट लघु उद्यम सञ्चालन गर्न प्रदान गरिने कर्जाको सीमा ५ लाख रुपैयाँबाट बढाएर १५ लाख पुर्याइने व्यवस्था समेत गरिएको छ ।

त्यस्तै, कर्मचारीको तलब भत्ता सुविधालाई निक्षेपका रुपमा स्वीकार गरी स्रोत परिचालन गर्न सक्ने व्यवस्था गरिएको छ ।


क्लिकमान्डु