गभर्नर नेपालको अन्तिम मौद्रिक नीति, कस्तो आउला ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्न लागेको मौद्रिक नीति गभर्नर डा चिरन्जिवी नेपालको अन्तिम मौद्रिक नीति हो ।
२०७१ साल चैतमा राष्ट्र बैंकको गभर्नर भएका नेपालले पहिलो मौद्रिक नीति मार्फत नै बैंक तथा वित्तीय संस्थाको चुक्ता पूँजी ४ देखि २५ गुणासम्मले बढाएका थिए ।
५ वर्षे कार्यकाल सकिएपछि गभर्नर नेपाल चैतबाट अवकास पाउने छन् । त्यसपछि राष्ट्र बैंकमा नयाँ नेतृत्व आउने छ ।
पहिलो मौद्रिक नीतिमा चुक्ता पूँजी वढाएको कारण विकास बैंक र फाइनान्स कम्पनीको संख्या दुईतिहाईले नै घट्यो । वाणिज्य बैंकको हकमा भने चुक्ता पूँजी बढेपछि दुईवटा बैंक मात्र मर्जर भए। अन्यले विकास बैंक र फाइनान्स कम्पनी गाभ्ने तथा बोनससँगै हकप्रदबाट पूँजी पुर्याए ।
चुक्ता पूँजी बढाएपछि गभर्नर नेपालले वाणिज्य बैंकको संख्या घटाउनको लागि बिग मर्जरको सुरुवात गर्न चाहन्छन् । मौद्रिक नीति आउनु अगाडि नै बैंकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतलाई बोलाएर मर्जरको प्रतिबद्धता जनाउन निर्देशन दिए । राष्ट्र बैंकको आशय बुझेर ग्लोबल आइएमई बैंक र जनता बैंक मर्जरमा जाने सम्झौता गरे । अन्य केही बैंकले मर्जरको लागि पार्टनर खोज्दै गभर्नरको नेपालले ल्याउने मौद्रिक नीति कुरेका छन् ।
बजेटमा उल्लेख भए अनुसार गभर्नर नेपालले बिग मर्जरको नीति भने मौद्रिक नीतिमा लिनेछन् । कस्ता खाले सुविधा दिने त्यो अझै टुंगो लागेको छैन ।
यसबाहेक सरकारले लिएको आर्थिक बृद्धिलाई सहयोग हुने गरेर राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने छ ।