सिंहदरबारमा एभरेष्ट बैंकको एकाधिकार तोडियो, सांसदको तलब सरकारी लगानीको वाणिज्य बैंकबाट



काठमाडौं । देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबारमा एभरेष्ट बैंकको एकाधिकार तोडिएको छ । अहिले एभरेष्ट बैंकमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसद् तथा संसद् सचिवालयमा राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर एटिएम सेवा सुरुवात भएको छ ।

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले सिंहदरबार परिसर भित्र रहेको संघीय संसद सचिवालयमा राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर र एटिएम सेवाको एक समारोहका बीच उद्घाटन गरे ।

सेवाको उद्घाटन गर्दै सभामुख महराले सरकारी बैंकको सेवाबाट सांसद तथा सचिवालयका कर्मचारीहरुलार्ई कारोबार गर्न सहज हुने बताए ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको सेवा अझ चुस्त र प्रविधिमैत्री हुने बताउदैं उक्त एटिएमबाट चौबीसै घण्टा सेवा उपलब्ध हुने बताए ।

प्रतिनिधिसभाको बैठकमा सांसद्हरुले भारतीय लगानीको बैंकबाट तलब दिएको भन्दै आलोचना गरेका थिए । अर्थमन्त्रीसँग प्रश्न गर्दै नेकपाका सांसद्ले तलब तथा सुविधा सरकारी लगानीको बैंकबाट गर्न भनेका थिए ।

एभरेष्ट बैंकमा भारतको पन्जाव नेशनल बैंक(पिएनएबी)को २० प्रतिशत सेयर छ । पिएनबीको २० प्रतिशत सेयर भएपनि एभरेष्ट बैंक नेपाली बैंक हो । सांसद्हरुले उठाएको प्रश्नको जवाफ दिदै अर्थमन्त्री डा युवराज खतिवडाले त्यो बेला नेपाली कानून अनुसार दर्ता भएको बैंकलाई फरक व्यवहार गर्न नमिल्ने बताएका थिए ।

चालु आर्थिक वर्षबाट सांसद् तथा सचिवालयका कर्मचारीको तलब वाणिज्य बैंकबाट जाने छ ।

संघिय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले तलब सुविधा आफुले रोजेको बैंकमा तलब सुविधा जम्मा गराउने अधिकार प्रतिनिधि र राष्ट्रियसभाका सदस्यलाई रहेको बताए ।

‘पहिला एभरेष्ट बैंकमा मात्र तलब जाने गरेको थियो, अब सांसद्हरुले चाहेमा वाणिज्य बैंकमा पनि खाता खोलेमा तलब जान्छ,दुईवटा बैंकमा मात्र तलब जाने हो,’पाण्डेले भने ।
संसद् सचिवालयले सांसद्हरुलाई एभरेष्ट र वाणिज्य बैंक कुनमा तलब पठाउने हो त्यसको अप्सन दिएको छ । यदी सांसद्ले एभरेष्टमा पठाउन चाहेमा एभरेष्टमा तलब जान्छ भने वाणिज्य बैंकमा चाहेमा वाणिज्य बैंकमा जान्छ ।


क्लिकमान्डु