बजेट अनुशासनमा अर्थमन्त्री बसेनन्, असारमा मात्र २२ अर्ब रुपैयाँको रकमान्तर



काठमाडौं । सरकारले वित्तीय अनुशासन विपरित आर्थिक वर्षको अन्तिम महिना असारमा २२ अर्ब रुपैयाँ रकमान्तर गरेको छ ।

अर्थमन्त्रालयले सार्वजनिक गरेको रकमान्तरको विवरण हेर्दा २१ अर्ब ९९ करोड रुपैयाँ रकमान्तर गरेको हो ।

वित्तीय अनुशासन पालना गराउन कडा गर्ने भनेर चिनिएका अर्थमन्त्री डा युवराज खतिवडाले केही शिर्षकमा रकमान्तरको लागि मन्त्रालयमा दवाव दिएका थिए ।
आर्थिक वर्षको अन्तिम महिनामा २२ अर्ब रुपैयाँको रकमान्तर हुनु वित्तीय अनुशासनको हिसाबले राम्रो मानिदैन ।

महालेखा परिक्षकको कार्यालयले हरेक वर्ष निकाल्ने वार्षिक प्रतिवेदनमा यसरी हुने रकमान्तर नगर्न सुझाव दिने गरेको छ ।

तर,जुन सरकार र व्यवस्था भएपनि बजेटभन्दा बाहिर रहेर रकमान्तर गर्ने प्रवृति रोकिएको छैन ।

यसो त रकमात्तर गर्न नै नहुँने भन्ने होइन । कतिपय अवस्थामा आवश्यक परेको बेला रकमान्तर गर्नुपर्ने हुन्छ । साउन देखि असारसम्म नै रकमान्तर गरिरहनुपर्ने कुरा भने राम्रो होइन ।

असार महिनामा धेरै स्थानीय तहलाई तलब खुवाउनको लागि पैसा निकासा गरिएको छ । ठूलो रकम यो पटक तलब खुवाउनको लागि गएको पैसा छ । यसबाहेक विभिन्न आवश्यक पर्ने ठाउँमा समेत रकमान्तर गरिएको छ । कतिपय संस्थालाई भने पैसा बाड्नको लागि रकमान्तर गरेर दिएको देखिन्छ ।


क्लिकमान्डु