पूँजीगत लाभकर सिडिएससीले निर्धारण नगरे लगानीकर्ताले आन्दोलन गर्ने



काठमाडौं । नेपाल इन्भेष्टर फोरमले पूँजी बजारलाई पुनः कागजी प्रक्रियामा धकेलिन लागेको प्रति चिन्ता जनाएको छ ।

फोरमले बिहीबार विज्ञप्ति जारी गर्दै लगानीकर्ताहरु पुनः ब्रोकर अफिसमा नै धाउन बाध्य नपार्न सरोकारवाला निकायलाई आग्रह गरेको छ ।

फोरमले पूँजीगत लाभकर सिडिएससीबाट नै निर्धारण गर्न माग गरेको छ ।
फोरमले अनलाइन सिस्टममा पूँजी बजार प्रवेश गरी सकेको अवस्थामा दुरदराज र विदेशमा बसेर समेत कारोबार गरिरहेकालाई फेरि कागजी प्रक्रियामा पुर्याएको उनीहरुको आरोप छ ।

उनीहरुले वर्तमान अवस्थामा अन्तिम समयमा औषत भारित दरबाट लगानीकर्ताहरु स्वंयमले भारित औषत लागत निर्धारण गर्ने परिपाटी गलत भएको तर्क गरेका छन् ।

विज्ञप्तीमा उल्लेख छ, ‘लगानीकर्ताहरुलाई पुनः ब्रोकर अफिसमा नै धाउनु पर्ने झन्झट र अव्यवहारिक अवस्था सिर्जना भएको तत्काल भारित औषत दरमा पूँजीगत लाभकर निर्धारण सिडिएससीबाट हुनुपर्छ, उक्त माग पूरा नभए लगानीकर्ता पुनः आन्दोलन जानुको विकल्प छैन ।’

सिडिएस एण्ड क्लियरिङ लिमिटेडले स्टक ब्रोकर एसोसिएशनलाई धितोपत्र बजारको पूँजीगत लाभकरको विषयमा जारी गरेको पत्रप्रति ध्यानाकर्षण भएको जनाएको छ ।


क्लिकमान्डु