नयाँ आर्थिक वर्षको दोस्रो दिन पनि टिकेन सेयर बजारको बढोत्तरी
काठमाडौं । नयाँ आर्थिक वर्ष सुरु भएको पहिलो दिन दोहोरो अंकले बढेको सेयर बजारमा दोस्रो दिन भने उक्त बढोत्तरीले निरन्तरता पाउन सकेको छैन ।
नेप्से मापन गर्ने सूचक २.३७ अंकले घटेर परिसूचक १२७२.४९ बिन्दुमा रोकिएको छ ।
१५८ कम्पनीको १२ लाख ५० हजार ७०८ कित्ता सेयर ४१ करोड १३ लाख ६९ हजार २९९ रुपैयाँमा कारोबार भएको छ । कारोबारमा बैंकिङ समूहको उपसूचक १.३५ अंकले घटेको छ भने होटल २५.८८, निर्जीबन बीमा कम्पनी २१, जीवन बीमा कम्पनी २७.६७ अंकले घटेको छ । यता वित्त कम्पनी ३.०३, उत्पादन तथा प्रशोधन ५.३९, अंकले बढेको छ ।
कारोबार रकमको आधारमा छिमेक लघुवित्त विकास बैंकको संस्थापन समूह अग्रस्थानमा देखिएको छ छिमेकको ५ करोड १७ लाख ६८ हजार ५०० रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै शिवम् सिमेन्ट र नेपाल लाइफ इन्स्योरेन्स क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।
नेपाल हाईड्रो डेभलपर्स, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था, ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाउँदा मेरो माइक्रोफाइनान्स वित्तीय संस्था, नबिल इक्विटी फण्ड, एसियन लाइफ इन्स्योरेन्सका लगानीकर्ताले गुमाएका छन् ।