पाइपबाट पेट्रोलियम पदार्थ आउन सुरु, वार्षिक २ अर्ब जोगिने



काठमाडौं । पाइपलाइनबाट पेट्रोलियम पदार्थ नेपाल ल्याउने काम सुरु भएको छ । बुधबार भारतीय आयल कर्पोरेशनको मोतिहारी डिपोबाट बुधबार दिउँसो पेट्रोलियम पदार्थ छाडिएको थियो ।

अमलेखगञ्जस्थित डिपो प्रमुख प्रदीप यादवले बिहीबार साँझ ६÷७ बजेसम्म डिजल पाइपललाइनबाट अमलेखगञ्ज डिपोमा आइपुग्नेछ । उक्त डिजल तत्काल ट्यांकीमा भने खन्याइने छैन् ।

मोतिहारीबाट अमलेखगञ्जसम्म डिजल आइपुग्न १४ देखि १८ घण्टा लाग्ने उनले जानकारी दिए ।

अमलेखगञ्जमा ४ वटा ट्यांकीमा डिजल जम्मा गरिनेछ ।

उनले क्लिकमाण्डूसँग भने, ‘हाल पाइप मै डिजल रहन्छ, उद्घाटनको दिन भल्ब खोलेर मात्रै ट्यांकीमा राखिनेछ ।’
उनका अनुसार अगस्ट १५ भित्रमा उद्घाटन गरी ट्यांकीमा जम्मा गर्न सुरु गरिनेछ ।

यादवका अनुसार अमलेखगञ्जमा २ वटा ट्यांकी ३९ लाख किलोलिटर र २ वटा ट्यांकी ४१ लाख किलोलिटर क्षमताका छन् ।

यादवका अनुसार नेपालतर्फ ३६.२ किमि पाइपलाइन र भारततर्फ ३२.८ किलोमिटर पाइपलाइन बिछ्याइएको छ । पाइप बिछ्याउने काम सकिएपछि पानी हालेर ‘हाइड्रोलिक टेस्ट’ सुरु गरिएको थियो ।

उनले भने, ‘मंगलबार हाइड्रोलिक टेस्ट सकिएको थियो, त्यसपछि बुधबार पेट्रोलियम पदार्थ ल्याउन सुरु गरिएको हो ।’

पाइपलाइनबाट पेट्रोलियम पदार्थ आएपछि ट्यांकर टुवानीका लागि लाग्ने खर्च वार्षिक २ अर्ब रुपैयाँ जोगिनेछ । यसबाट राजमार्गको ट्राफिक जाम तथा पेट्रोलियम पदार्थ चुहावटको समस्या समाधान हुनेछ ।

३६ किमिमध्ये साढे ७ किमि पाइप भूमिगत प्वाल बनाएर पाइप राखिएको छ ।

परवानीपुरमा २ किलोमिटर, जितपुरमा १.६ किलोमिटर र नाला, कलवट, सडक खण्ड रहेको स्थानमा ४ किलोमिटरमा भूमिगत प्वाल पारेर राखिएको छ ।

पाइपलाइन परियोजना निर्माण गर्न दुई सरकारबीच २०७२ भदो ७ गते सम्झौता भएको थियो ।


क्लिकमान्डु