अब उत्पत्तिको प्रमाणपत्र अनलाइनबाट जारी गर्न पाइने



काठमाडौं । अनलाइनबाट उत्पत्तिको प्रमाण पत्र जारी गर्ने कार्यको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदार बहादुर अधिकारी र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले संयुक्त रूपमा महासंघ सचिवालयमा शुभारम्भ गरेका छन ।

उत्पत्तिको प्रमाणपत्रलाई अनलाइन प्रणालीबाट जारी गर्ने सम्बन्धमा मन्त्रालय र महासंघबीचको लामो अभ्यासपछि अवको एक महिना अर्थात भदौ १ गतेदेखि ललितपुर उद्योग वाणिज्य संघबाट त्यसको शुरुवात गर्ने गरी आज त्यसको महासंघ सचिवालयमा एक विशेष समारोहका बीच सफ्ट लन्च गरिएको छ । नेपालबाट निकासी हुने वस्तुका लागि जारी हुने उत्पत्तिको प्रमाण पत्र जारी गर्ने कार्य महासंघले विगत ५ दशकभन्दा बढी समयदेखि भारत तथा तेस्रो मुलुकका लागि गर्दै आएको छ ।

कार्यक्रमलाई संवोधन गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले उत्पत्तिको प्रमाणपत्रलाई अनलाइन प्रणालीमा लगेपछि समय, श्रमको समेत बचत हुन गई व्यवसाय लागतमा समेत कटौती हुन गई व्यापार विस्तारमा सहयोग पुग्ने धारणा राखे । अनलाईन प्रणालीबाट उत्पत्तिको प्रमाणपत्र जारी गर्ने कार्यलाई सफल पार्न महासंघका तर्फबाट नेतृत्वदायी भूमिका निर्वाह हुनेमा आफू विश्वस्त रहेको बताउदै यो प्रणालीमा जांदा आउने चुनौतीलाई सामना गर्न मन्त्रालयले सहयोग र सहकार्य गर्ने विश्वास दिलाए ।

महासंघका अध्यक्ष भवानी राणाले अनलाइन प्रणालीबाट जारी भएको उत्पत्तिको प्रमाणपत्र कानूनी रूपमा समेत मान्य हुने बताइन । जहांसुकै बसेर पनि उत्पत्तिको प्रमाणपत्रको विवरण भर्न तथा जारी गर्न सकिने, मन्त्रालयबाट समेत यसको अनुगमन गर्न र वस्तु निकासीको तथ्यांक सहज तरिकाबाट उपलव्ध हुने भएकाले यसको महत्व अझ बढ्ने विश्वास व्यक्त गरिन । साथै अध्यक्ष राणाले महासंघले प्रभावकारी ढंगबाट आफ्नो जिम्मेवारी निर्वाह गर्ने विश्वास समेत दिलाइन ।

महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले सरकारले डिजिटल नेपालको अवधारणालाई अगाडी बढाई सकेको पृष्ठभूमिमा अनलाईनबाट उत्पत्तिको प्रमाणपत्र जारी गर्ने व्यवस्थाले सो अवधारणालाई एक कदम अगाडी बढाएको धारणा राखे । साथै उनले उत्पत्तिको प्रमाणपत्रलाई अनलाइनमा लगेपछि राष्ट्रिय एवं अन्तराष्टिय रूपमा समेत फाइदा पुग्ने विश्वास व्यक्त गरेका छन ।

कार्यक्रममा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारि निर्देशक शरद विक्रम राणा, भंसार विभागका निर्देशक मुक्तिराम आचार्य, नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश नम्वर ३ का अध्यक्ष दिनेश श्रेष्ठ, महासंघका निमित्त महानिर्देशक गोपाल प्रसाद तिवारी सहितले मन्तव्य राखेका थिए ।

कार्यक्रममा अनलाइन प्रणाली निर्माण कम्पनी मण्डला सिस्टम प्रालिका प्रवन्ध निर्देशक विप्लवमान सिंहले सो प्रणालीको प्रयोग सम्बन्धमा जानकारी गराउनु भएको थियो । अनलाइन प्रणालीमा गएपछि महासंघ, उत्पत्तिको प्रमाण पत्र जारी गर्ने निकाय तथा भन्सार कार्यालयबीच सम्पर्क कायम रहने, पेपरलेस हुने भएकाले भन्सार लगायत कार्यालयहरूमा समेत उत्पत्तिको प्रमाण पत्र बुझाइरहन आवश्यकता नहुने, अनलाइनबाटै हेर्न सकिने, उत्पत्तिको प्रमाण पत्र भर्ने क्रममा एक पटक प्रविष्ट भैसकेपछि पुनः उत्पादक, वस्तु, हार्मोनाइजेशन कोड एचएस कोड लगायतको जानकारी सजिलै प्रविष्ट हुने सो अवसरमा बताइयो ।
कार्यक्रममा महासंघको प्रदेश नम्वर १ का अध्यक्ष नरेन्द्रकुमार खड्का, कार्यकारिणी समितिका सदस्यहरू, उपत्यकास्थित महासंघका सदस्य उद्योग वाणिज्य संघका प्रतिनिधिहरू, उद्यमी व्यवसायीहरू, महासंघका वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो ।


क्लिकमान्डु