कर प्रणालीमा सुशासन ल्याउन ट्रयाकिङ सिस्टम: मन्त्री खतिवडा



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भेहिकल एण्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम)को उद्घाटन गरेका छन् ।

बुधबार अर्थमन्त्री डा. युवराज खतिवडाले अपारदर्शी र अनौपचारिक व्यवसायबाट औपचारिक व्यवसायमा जान यो सिस्टम निकै प्रभावकारी हुने बताए ।

मुलुकको आधा अर्थतन्त्र अनौपचारिक भएको भन्दै यसलाई औपचारिक बनाउन यस्तो सिस्टम प्रभावकारी हुने उनको तर्क छ ।

मन्त्री खतिवडाले मूल्य वृद्धि, आयकर वा भन्सार कर तिर्ने वा नतिर्नेबीच र वैध तथा अवैध कारोबार गर्नेलाई एउटै डालोमा राखेर हेर्न थाले सुशासनको कुरा गर्न नहुने बताए ।

उनले भने, ‘यसअघि करको विषयमा धेरै झन्झटिला प्रक्रिया थिए, अब ती न्यून हुन थालेका छन् । सरकार अब सुशासनको बाटोमा जान थालेको छ ।’

कार्यक्रममा मन्त्री खतिवडाले अघिल्लो सरकारको पालमा राजश्व अनुसन्धान विभागको बारेमा जे सुन्नुपरेको थियो त्यो सुन्न नपरोस भनेर विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहतमा लगेको बताए ।

पहिला अर्थमन्त्रालय मातहतभन्दा अहिले प्रधानमन्त्री कार्यालय अन्तर्गत भएपछि धेरै कुरा सुधार भएको उनको भनाइ छ ।

कार्यक्रममा मन्त्री खतिवडाले अहिले अनधिकृत रुपमा भएका व्यापारहरु पनि हट्दै गएको बताए । यसको लागि सूचना प्रविधि प्रयोगले सहयोग गर्ने बताए ।

नयाँ प्रविधि आउँदा कोही झुक्किए पनि यसको प्रयोग बढ्दै जाँदा फाइदा नै हुने तर्क गरे । उनले भने, ‘हामीले सिक्दै जाने हो, प्रविधिबाट पछि हटन मिल्दैन ।’ उनले यसको क्षमता विकासमा सरकार नीति क्षेत्रले आवश्यक काम गर्ने बताए ।

कार्यक्रममा मन्त्री खतिवडाले वस्तुगत विधिबाट करको दर निर्धारण हुने जानकारी गराए । उनले भने, ‘आय आर्जन गर्ने सबै करको दायरामा आउन भनेर नै व्यक्तिगत प्यान नम्बरको सुुरु गरेको हो । अहिलसम्म करिब
२२ लाखले प्यान नम्बर लिएका छन् । एक वर्षमा १५ प्रतिशत थप प्यान लिने बढेका छन् ।’

आम्दानी गरेर कर तिर्ने र आम्दानी गरेर कर नतिर्ने बीचको असमानता हटाउन खोजेको मन्त्रीको भनाइ छ । उनले भने, ‘यो प्रणालीको हामीले अन्त्य गर्न आवश्यक छ ।’


क्लिकमान्डु