अर्थमन्त्री खतिवडा राजस्वको संशोधित लक्ष्य पुरा गर्न असफल



काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले ल्याएको पहिलो बजेटको कार्यान्वयन पूर्ण सकिएको छ ।

मंगलबारदेखि सकिएको आर्थिक वर्ष २०७५/७६ मा अर्थमन्त्री खतिवडा प्रमुख काममा असफल देखिएका छन् ।

अर्थमन्त्रालयको प्रमुख जिम्मेवारीमा राजस्व संकलन पर्छ । सरकारले गत आर्थिक वर्षमा ९ खर्ब ४५ अर्ब राजस्व उठाउने लक्ष्य बजेटमा राखेको थियो ।

अर्थमन्त्री खतिवडाले बजेटको मध्यावधी समिक्षा मार्फत राजस्वको लक्ष्य घटाएर ८ खर्ब ६० अर्ब रुपैयाँमा झारेका थिए ।

पछिल्ला १० वर्षमा राजस्वको लक्ष्य भेटाउन नसकेको पहिलो पटक हो । राजस्वको सर्वाधिक लक्ष्य राखेर हासिल भएको भने डा बाबुराम भट्टराई अर्थमन्त्री भएको बेला हो ।

अर्थमन्त्रालयका अनुसार गत आर्थिक वर्षमा ८ खर्ब ३५ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । संसोधित लक्ष्यको ९७ प्रतिशत मात्र राजस्व संकलन भएको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले राजस्वको लक्ष्य पुरा नहुँने देखेपछि अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा केही समय अगाडि आफुले राजस्वको लक्ष्य पुरा गर्नको लागि दवाव दिने काम नगरेको बताएका थिए ।

‘विगतमा राजस्वको लक्ष्य पुरा गर्नको लागि कस्ता काम भएका थिए,त्यो यो वर्ष भएको छैन,’ अर्थमन्त्री खतिवडाले सो कार्यक्रममा भनेका थिए ।

यो पटक मूल्य अभिबृद्धि कर,आयकर,भन्सार,अन्तशुल्क लक्ष्य अनुसार राजस्व संकलन भएको छैन ।

अर्थमन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले गत आर्थिक वर्षमा ८ खर्ब ३५ अर्ब रुपैयाँ राजस्व संकलन भएको बताए ।

‘यसमा केही रकम बढ्न सक्छ,संसोधित लक्ष्यको ९७ प्रतिशत लक्ष्य हासिल भएको छ’उनले भने ।

खत्रीले लक्ष्य अनुसारको राजस्व संकलन नहुनुको पछाडि असारको अन्तिम साता आएको बाढीको कारण भन्सार कार्यालय संचालन हुन नसक्नु तथा विकास खर्च सोचे अनुसार नभएको कारण भएको बताए ।

‘केही करदाता राजस्व निर्धारणपछि प्रक्रियामा नगएर सिधै अदालतमा जाने र अन्तरिम आदेश आएको कारण राजस्व निर्धारण भएन, जसले गर्दा लक्ष्य अनुसारको राजस्व संकलन भएन,’ खत्रीले थपे ।

गत आर्थिक वर्षमा एनसेलबाट राजस्व आउने अनुमान सरकारको थियो । एनसेल बाहेकपनि १० अर्ब रुपैयाँ जति राजस्व अदालतको अन्तरिम आदेशको कारण प्रभावित भएको छ । यसबाहेक कर्मचारी समायोजनको कारण समेत राजस्व असुली प्रभावित भएको अर्थमन्त्रालयको बुझाई छ ।

सरकारले चालु आर्थिक वर्षमा भने ९ खर्ब ८१ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ ।


क्लिकमान्डु