लगानीकर्ता भन्छन्ः बोर्डको नीति तथा कार्यक्रमले सेयर बजार विकासमा सघाउँछ



काठमाडौं । धितोपत्र बोर्डले आगामी आर्थिक वर्ष २०७६-७७ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । उक्त नीति तथा कार्यक्रमको लगानीकर्ता सम्बद्ध संघ संस्थाहरुले खुलेर स्वागत गरेका छन् ।

नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियरले बोर्डले ल्याएको नीति तथा कार्यक्रमले बजार विस्तार तथा विकासको लागि काम गर्ने बताए ।

नीति तथा कार्यक्रमले लगानीकर्ताले लामो समयदेखि राख्दै आएको माग पनि पूरा गरेको बताए ।
उनले भने, ‘हकप्रद सेयर निष्कासनमा हाल लगानीकर्ताहरुले आफ्नो हकसम्मको मात्र आवेदन दिने व्यवस्था रहेकोमा आगामी दिनमा लगानीकर्ताले आफ्नो हकभन्दा बढी आवेदन दिनसक्ने व्यवस्था गरी शीघ्र कार्यान्वयनमा ल्याउने नीति लिएको छ, यो हाम्रो लामो समयदेखिएको माग हो ।’
यसले लगानीकर्ताको हित गर्ने उनको भनाइ छ । बोर्डले ल्याएको नीति तथा कार्यक्रममा लगानीकर्ताको लागि धेरै काम गर्ने भनेपनि त्यो कार्यान्वयन कसरी हुन्छ त्यसमा भरपर्ने उनको भनाइ छ ।

यस्तै नेपाल पूँजीबजार लगानीकर्ता संघले पनि नीति तथा कार्यक्रमलाई बजारमैत्री टिप्पणी गरेको छ । संघकी अध्यक्ष राधा पोखरेलले नीति तथा कार्यक्रममा संघले लगानीकर्ताको लागि उठाएको बिभिन्न मागमध्ये ४ वटा सम्बोधन भएको बताइन ।

धितोपत्र बोर्डले आगामी दिनमा बजारको बिकास तथा सुधार गरी धितोपत्र बजारलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउनका लागि बोर्डबाट हालसालै भएका सुधारात्मक र विकासात्मक काममा बढी जोड दिनुपर्ने उनले बताइन ।

बोर्डले गर्ने अभिमुखिकरण कार्यक्रमहरुमा संघलाई पनि समावेश गराउनका लागि उनले माग गरिन् ।
प्रत्येक बर्षको बजेट भाषणमा गैर आवासीय नेपालीलाई पूँजी बजारमा प्रवेश गर्न सहजीकरण गर्ने, क्लियरिङ बैंक थप गर्ने, सुचना प्रवाह व्यवस्थामा सुधार गर्ने, ईक्रा रेटिङमा थप कडाई गर्ने काम प्रभावकारी हुनुपर्ने संघको माग छ ।

त्यस्तै, ब्रोकरलाई उपत्यका बाहिर जान प्रोत्साहित गर्न, सेटलमेन्ट फन्टको ब्यवस्था गर्न, अक्सन मार्केटको व्यवस्था गर्न, ईन्ट्रा डे ट्रेडिङ सिस्टमको सुरुआत गर्नुपर्ने उनको भनाइ छ ।

उनले ऐन संशोधन गरी समयमा बार्षिक साधारण सभा नगर्ने कम्पनीका संचालकहरुलाई हदैसम्म दण्डित गर्न, साधारण सभाबाट पारित भएको बोनस सेयर १५ दिनभित्र सुचिकृत गराउनेतर्फ पहल कदमी लिनका लागि माग समेत गरिन् ।

टि प्लस थ्री कारोबारलाई क्रमशः घटाउँदै ल्याउने, बुक बिल्डिङ प्रणालीलाई प्रयोगात्मक रूपमा कार्यान्वयनमा ल्याउने, सुचिकृत कम्पनीका संस्थापकहरूको शेयर लकिङ पिरियडको विषयमा अहिले रहेको व्यवस्थालाई प्रतिकूल असर नपर्ने गरी सुधार गर्ने कार्य भएको पाइएको संघले जनाएको छ ।

संघका उपाध्यक्ष ताराप्रसाद फुल्लेले ओटिसी कारोबारलाई प्रतिस्पर्धी र विश्वसनीय रूपमा शीघ्र सञ्चालन गर्न सहजीकरण गर्ने, धितोपत्र दलाल व्यवसायीको कार्य क्षेत्र विस्तार गर्न उक्त व्यवसायीलाई ब्रोकर डिलरसिप र एडभाइजरी सर्भिसको काम गर्न दिने व्यवस्था गर्ने, स्थानीयस्तरमा समेत ब्रोक्रेज व्यवसाय विस्तार विकाश र पारदर्शी बनाउने लगायतका धेरै सकारात्मक कुरा नीति तथा कार्यक्रममा समेटिएको बताए ।

लगानीकर्ताले वर्षौंदेखि उठाउँदै आएको बिषय अल्पकालिन लगानिकर्ताको तुलनामा दीर्घकालीन लगानीकर्तालाई विशेष सुविधा र सहूलियत दिन बोर्ड सकारात्मक रहेको उनको बुझाइ छ ।


क्लिकमान्डु