बिग मर्जरले सेयर लगानीकर्ता अन्योलमा, कस्तो पर्ला प्रभाव ?
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा देखिएको मर्जरका लहडले सेयर बजारमा कस्तो प्रभाव पर्ने हो ? यसबारेमा अञ्जान रहेका लगानीतकर्तामा अन्योलले गाँजेको छ ।
मर्जर र यसबाट उत्पन्न हुन सक्ने सम्भावित प्रभावका विषयमा अहिले वित्तीय बजारामा छलफल तथा बहस सुरु भइसकेको छ ।
सेयर बजारको जानकार नीरव पुडासैनी बैैंक तथा वित्तीय संस्था मर्जरमा जाँदा त्यसको केही असर भने सेयर बजारमा देखिने बताउँछन् ।
उनी भन्छन, ‘धेरै संख्यामा बैंक तथा वित्तीय संस्था एकैपटक मर्जरमा जाँदा नम्बर अफ सेयरको ट्रेडका कारण बजार घटन सक्छ ।’
यस्तो समयमा सेयर बजारको बारेमा पूर्ण जानकारी नभएका लगानीकर्ता पनि डुब्ने सम्भावना भएकाले त्यसतर्फ पनि सचेत हुनेपर्ने उनको बुझाइ छ ।
वित्तीय संस्थाको मर्जरपछि लामो समय कारोबार रोकिँदा कतै लगानीकर्ता सेयर बजारबाट बाहिरिने त हैनन् भन्ने शंकाले लगानीकर्ताको मनमा आशंका पैदा गरिसकेको छ ।
बजारको बारेमा पूर्णतया जानकारी नभएका लगानीकर्ता कतै डुब्ने त हैनन भन्ने सम्भावित घटनालाई आँकलन गर्दै यतिबेला वित्तीय बजारमा चर्चा लगानीकर्तामा सुरु भएको छ ।
त्यसैले लगानीकर्तासँगै सम्पूर्ण स्टेकहोल्डरहरु आगामी दिनमा बजारले कस्ता गति लेला भन्ने विषयमा आम लगानीकर्ताले चर्चा गर्न थालेका छन् ।
बैंकहरु मर्जरमा जाने भएपछि उनीहरुको कारोबार थोरै समयका लागि मात्र रोक्का नगर्ने हो भने सेयर बजारको पैसा अन्यत्र पनि जाने भएकाले त्यसतर्फ पनि समयमा नै सचेत हुनुपर्ने पुडासैनीको बुझाइ छ ।
उनले भने ‘सेयर बजारमा लामो समय कारोबार ठप्प हुँदा पैसा अन्यत्र जाने सम्भावना रहन्छ । त्यस्तो अवस्था सिर्जना हुन नदिनका लागि मर्जरमा जाने कम्पनीको थोरै समयका लागि मात्रै कारोबार रोक्का हुुनुपर्छ । धेरै समय कारोबार रोक्का हुँदा यसले समस्या देखाउन सक्छ ।’
यता अर्का सेयर बजारका विश्लेषक प्रकाश तिवारी पनि बैंकहरुको मर्जरले बजारमा कहीँ कतै असर देखापर्ने तर्क गर्छन ।
त्योभन्दा पहिले धेरै बैंक एकै पटक मर्जरमा जान्छन की जाँदैनन् भनेर हेर्नुपर्ने र ती संस्थाहरुको कारोबार लामो समय रोकिएको खण्डमा त्यसको केही असर देखा पर्ने उनको बुझाइ छ ।
उनले भने ‘जुन कम्पनीको कारोबार रोक्का भएको हो, त्योभन्दा अन्य कम्पनीको कारोबार बढ्न सक्छ, यसतर्फ पनि लगानीकर्ताले ध्यान दिनुपर्छ ।’
अहिले बजारमा पैसा नभएकाले ट्रेडिङ भएपनि राम्रो लगानी भित्र्न नसकेको उनको भनाइ छ ।
तिवारीले भने ‘अहिले बैंकहरुले ऋणपत्र ल्याउँदा पैसा बाहिर गएको छ, यस्तो अवस्थामा मौद्रिक नीति कस्तो आउँछ र त्यसले पार्ने प्रभावलाई हेरेर बजार कसरी अघि बढ्छ भन्न सकिन्छ, अहिले यसै भन्न मिलिहाल्ने अवस्था पनि छैन ।’