ठूला होइन साना बैंक गाभ्ने इन्भेष्टमेन्ट बैंकको रणनीति
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले मर्जरमा जानको लागि राष्ट्र बैंकमा प्रस्ताव पठाएको छ । अहिले पूँजीको आकारले सबैभन्दा ठूलो नेपाल इन्भेष्टमेन्ट बैंक हो ।
चैत मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पूँजी १२ अर्ब ५८ करोड रुपैयाँ छ । रिजर्बमा १० अर्ब ५५ करोड छ । पूँजीको आकारले सबैभन्दा ठूलो बैंक नेपाल इन्भेष्टमेन्ट बैंक हो । निक्षेप कर्जामा भने बैंक पहिलो नम्बरमा छैन ।
इन्भेष्टमेन्ट बैंकले ८० करोड चुक्ता पूँजी भएको जेविल्स फाइनान्सलाई एक्वाएर गर्न लागेको छ ।
बैंकले अहिलेसम्म विकास बैंकलाई आफ्नोमा गाभ्ने रणनीति बनाएको छ । स्रोतहरुका अनुसार इन्भेष्टमेन्ट बैंकले वाणिज्य बैंकभन्दा पनि विकास बैंक र फाइनान्सलाई कम्पनीलाई गाभेर चल्ने रणनीति बनाएको छ ।
त्यसैले अहिले इन्भेष्टमेन्ट बैंकले कुनैपनि वाणिज्य बैंकसँग मर्जरका लागि छलफल गरेको छैन ।
मौद्रिक नीतिसम्म पर्ख र हेरको रणनीति अपनाउने र मौद्रिक नीतिले वाणिज्य बैंक नै गाभ्नुपर्ने दबाब सिर्जना गरेमा मात्रै वाणिज्य बैंकसँग छलफल अघि बढाउने रणनीति लिएको बैंकका एक सञ्चालकले जानकारी दिए ।
तर, केही विकास बैंक र फाइनान्स कम्पनीसँग भने बैंकले अहिले पनि मर्जर तथा एक्विजिसनको छलफल गरिहेको छ ।
जेविल्सलाई गाभ्नको लागि बोलाएको साधारणसभामा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले हिमालयन बैंकसँग मर्जरमा जाने विषय सेयर बजार बढाउनको लागि चलाइएको हल्ला मात्र भएको बताएका थिए ।