चेम्बरकाे सुझाव- बैंकहरुको फोर्स मर्जर गर्नु हुँदैन



काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष कमलेश अग्रवालले बैंकहरुको फोर्स मर्जर गर्न नहुँने सुझाव दिएका छन् । राष्ट्र बैंकले आयोजना गरेको मौद्रिक नीतिको सुझाव कार्यक्रममा उनले बैंक मर्जरलाई बिहेको रुपमा व्याख्या गरिएको छ भन्दै त्यो त बिबाहभन्दा पनि बढी जटिल हुने बताए ।

‘बिहे त दुई शरीर मिलेर एक आत्मा बन्ने हो,मर्जर त आत्मा शरीर दुबै एक हुने हो,
त्यसैले यस्तो संवेदनशील विषयलाई फोर्स मर्जर गर्नु हुँदैन,’ उनले भने ।

उनले राष्ट्र बैंकका सन्तान भएको बैंक तथा वित्तीय संस्था रहेको बताउदै अलिकति पनि फोर्स भयो भने सन्तानहरु टुहुरा हुने भन्दै यसमा संवेदनशील भएर अघि बढ्न सुझाव दिए ।

कर्जाको व्याजदर ७ देखि ९ प्रतिशतमा राख्नुपर्ने माग अग्रवालको छ ।
‘निक्षेपमा होइन, कर्जामा कार्टेलिङ गरेर व्याज सस्तो बनाउनका लागि राष्ट्र बैंकले प्रोत्साहन गर्नुपर्छ,’उनले भने ।

पुनरकर्जा कोष १ खर्बको बनाउनुपर्ने तथा स्प्रेडदर साढे ३ प्रतिशतमा झार्नुपर्ने र सिसिडि खुकुलो बनाउनुपर्ने माग अग्रवालले गरे ।


क्लिकमान्डु