क्यासिनो सञ्चालन गर्न सीमा क्षेत्रमा खुकुलो नीति, दोब्बर भयो दस्तुर

क्लिकमान्डु २०७६ असार २२ गते २१:४६ मा प्रकाशित

काठमाडौं । सरकारले क्यासिनो सञ्चालनका लागि सीमा क्षेत्रसँगको दूरी घटाएको छ । यस अगाडि छिमेकी मुलुकसँगको सीमाबाट ५ किलोमिटर दूरी कायम गरिएको थियो भने अहिले व्यवसायीको माग बमोजिम ३ किलोमिटरसम्म क्यासिनो सञ्चालन गर्न पाइने बनाएको हो ।

क्यासिनो नियमावली २०७० लाई चौथो पटक संशोधन गर्दै सरकारले सीमा क्षेत्रसँगको दूरी २ किलोमिटर घटाएको हो । संशोधनपछि छिमेकी मुलुकको सीमानाभन्दा ३ किलोमिटरको दूरीमा क्यासिना राख्न पाइनेछ ।

यो व्यवस्थाले सीमा क्षेत्रमा खुलेका होटलमा क्यासिनो सञ्चालनको बाटो खुलेको छ ।

होटल व्यवसायीहरुले सरकारसँग लामो समयदेखि सीमा क्षेत्र नजिकका होटलको व्यवसायलाई हेरी यस्तो व्यवस्था गर्न माग गर्दै आएका थिए ।

तर क्यासिनो दस्तुर रकम भने बढाइएको छ । क्यासिनो दर्ताको सञ्चालनका लागि भने रकम ५ लाख रुपैयाँबाट दोब्बर वृद्धि गरी १० लाख रुपैयाँ बनाइएको छ । गत साता बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

व्यवसायीहरुले कुनै निश्चित स्थान तोक्नुभन्दा पनि जहाँ अनुकुल हुन्छ सोही स्थानमा क्यासिनो सञ्चालन गर्न पाउनुपर्ने माग राख्दै आएका थिए ।
मन्त्रालयका सह-सचिव घनश्याम उपाध्यायले भने ‘सीमा क्षेत्रको दुरी २ किमिले घटाएका छौं, तर दस्तुर रकमभने भने शतप्रतिशत वृद्धि गरेका छौं ।’

त्यस्तै बैठकले इजाजत पत्रको रोयल्टी बढाएर २ करोड रुपैयाँबाट २ करोड ५० लाख रुपैयाँ पुर्याएको छ । र क्यासिनोलाई नविकरण गर्नका लागि यो व्यवस्थासँगै थप २ महिना समय दिने समेत निर्णय गरिएको छ ।

थप गरिएको २ महिनासम्म पनि दस्तुर नबुझाउने क्यासिनोलाई ३ महिनासम्म १५ प्रतिशत र सो अवधि नाघेमा ३० प्रतिशतले थप जरिवाना गर्ने व्यवस्था ऐनमा छ ।

आर्थिक ऐन अनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा अगाडि नै क्यासीनो नविकरण गर्नुपर्ने व्यवस्था छ ।

क्यासिनो सञ्चालन गरे वापत रोयल्टी आर्थिक वर्ष सुरु भएको २ महिनाभित्र तिर्नुपर्ने आर्थिक ऐन २०७६ मा उल्लेख छ ।

क्यासिनो सञ्चालन गर्न २५ करोड रुपैयाँ चुक्ता पूँजी तोकिएको छ भने, उपकरणबाट खेलाउने क्यासीनोको हकमा भने १५ करोड रुपियाँ चुक्ता पूँजी तोकिएको छ ।

नेपालमा रहेका क्यासिनो सञ्चालन गर्न इजाजत व्यक्ती वा संस्थाले क्यासिनो सञ्चालन गरेवापत वार्षिक ४ करोड रुपैयाँ र आधुनिक मेसिन वा उपकरणको माध्यमबाट खेलाइने खेलको लागि वार्षिक १ करोड रुपैयाँ रोयल्टी बुझाउनुपर्छ ।

नेपालका क्यासिनोमा भारतीय पर्यटक बढी हुने भएकाले भारतका सीमा नजिकै क्यासिनो सञ्चालन गर्न पाउनुपर्ने माग व्यवसायीहरुले राख्दै आएका थिए । हाल नेपालमा डेढ दर्जन क्यासिनो सञ्चालनमा रहेका छन् ।

पर्यटन ऐन २०३५ अनुसार बनेको यो नियमावलीमा सरकारले चौथोपटक संशोधन गरेर व्यवसायीको माग पूरा गर्ने प्रयास गरेको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलले जानकारी दिएको छ ।

नियमावली २०७० माघमा पहिलो पटक, चैत्र दोस्रो पटक र २०७१ जेठमा तेस्रो पटक नियमावली संशोधन भएको थियो ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स