मर्जरले बढायो बैंकको सेयर, कुनको कति बढ्याे ?



काठमाडौं । बैंकहरुको मर्जरको चर्चा चलेसँगै सेयर कारोबारमा पनि केही सुधार देखिएको छ ।

गभर्नर डा. चिरन्जीवी नेपालले असार १२ गते सबै वाणिज्य बैंकहरुलाई बोलाएर मर्जरमा जान निर्देशन दिएयता यसको प्रभाव सेयर बजारमा बलियो गरी देखिएको छ ।

गभर्नरको निर्देशन यता बैंकहरु मर्जरमा जानको लागि जोडि खोजिरहेका छन् । केही बैंकले जोडी पाइसके भने केही अहिले छलफलका क्रममा छन् । जसमध्येले ग्लोबल आईएमई र जनता बैंकले मर्जरको सुरुवात गर्नका लागि हस्ताक्षर गरिसकेका छन् ।

गभर्नरले निर्देशन दिएको ३ दिनका दिन असार १५ गतेयता बैंकहरुको सेयर मूल्यमा सुधार देखिएको छ । यो साताको मात्रै कारोबार हेर्दा पनि नेपाल स्टक एक्सचेन्जमा सूचिकृत अधिकांश वाणिज्य बैंकहरु सेयर मूल्यमा उल्लेख्य सुधार देखिएको छ ।

विगत लामो समयदेखि बैंक तथा वित्तीय संस्थामा मर्जर मात्रै नभएर बिग मर्जरको समेत चर्चा चलेको थियो । त्यो चर्चालाई व्यवहासिद्ध गर्न केहीहदसम्म बजेटले सहयोग गरेको थियो ।

साथै आगामी आवको बजेटमा नै ‘बैंक तथा वित्तीय संस्थाहरु एकआपसमा गाभ्ने नीतिलाई निरन्तरता दिँदै ठूला बैंक तथा वित्तीय संस्थाहरु समेत एक आपसमा गाभ्न प्रोत्साहित गरिनेछ’ भन्ने उल्लेख गरिएको थियो ।

मर्जरको बहसमा बैंकहरु क्रियाशिल हुँदा थोरै सेयर मूल्य भएका बैंकहरुको सेयर मूल्यमा बढोत्तरी देखिएको छ ।

एक साताको अवधिमा बैंकहरुको सेयर मूल्य प्रति कित्ता १२ रुपैयाँसम्म बढेको छ ।

जसमध्ये सेञ्चुरी बैंकको प्रतिकित्ता १२ रुपैयाँ, सिभिल बैंकको ८ रुपैयाँ, जनता बैंकको ७ रुपैयाँ, कुमारी बैंकको ५ रुपैयाँ, मेगा बैंक ८ रपैयाँ, प्रभु बैंक ५ रुपैयाँ, प्राइम बैंक ९ रुपैयाँले सेयर मूल्य बढेको छ ।

यो साता वाणिज्य बैंकका लगानीकर्ताहरुले कमाएका छन् ।


क्लिकमान्डु