एकसातामा सेयर कारोबार : ग्लोबल आइएमईको ४ रुपैयाँ घट्दा जनताको ७ रुपैयाँ बढ्यो
काठमाडौं । राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालले असार १२ गते सबै वाणिज्य बैंकहरुलाई बोलाएर मर्जरमा जान निर्देशन दिएको एक सातामा पछि ग्लोबल आईएमई बैंक र जनता बैंकले आपसमा मर्जरमा जान हस्ताक्षर गरेका छन् ।
गभर्नर नेपालले मर्जरमा जान निर्देशन दिए यताको सेयर कारोबारको अवस्थालाई हेर्ने हो भने ग्लोबल आइएमई बैंकको सेयर मूल्य घटेको देखिन्छ भने जनता बैंकको सेयर मूल्य बढेको छ ।
गत आइतबार प्र्रति कित्ता २०७ रुपैयाँमा किनबेच भएको जनता बैंकको सेयर मूल्य बिहीबार कारोबार बन्द हुँदा २१४ रुपैयाँमा पुगेको छ ।
यस्तै यता ग्लोबल आइएमइ बैंकको सेयर मूल्य भने आइतबारको तुलनामा प्रति कित्ता ४ रुपैयाँको दरले घटेको छ । आइतबार २९९ रुपैयाँमा प्रति कित्ता सेयर कारोबार भएपनि कारोबारको अन्तिम दिन आइतबारसम्म आईपुग्दा भने ४ रुपैयाँले घटेर २९५ रुपैयाँ कायम भएको छ । यो सातामा नै ग्लोबलका लगानीकर्ताले प्रति कित्ता ४ रुपैयाँ गुमाएका छन् ।
शुक्रबार सेयर कारोबार हुँदैन । आइतबारदेखि नै ग्लोबल र जनता बैंकको सेयर कारोबार मर्जर प्रक्रिया पुरा नहुँदासम्म रोक्का हुने छ ।