भारतबाट आउने दुधमा सरकारले लगायो प्रतिबन्ध, ५० करोडको व्यापार भयो ठप्प
काठमाडौं । नेपाल सरकारले भारतबाट आयात हुने प्याकेजिङ दुध र इनर्जी ड्रिङसको आयातमा रोक लगाएको छ ।
भारतमा दुधबाट उत्पादन हुने कुनै पनि पदार्थको आयातमा सरकारले रोक लगाएपछि भारतबाट आउने दुधजन्य पदार्थ र इनर्जी ड्रिङस ठप्प भएको हो ।
भारतमा उत्पादन हुने दुधजन्य पदार्थ र इनर्जी ड्रिङसमा खतरनाश रसायन रहेको भन्दै आयातमा रोक लगाएको हो ।
यस अगाडि सरकारले भारतबाट आयात हुने तरकारीमा रोक लगाएको थियो ।
तरकारीमा अत्यधिक रसायन प्रयोग गरिएको र मानव स्वास्थ्यमा प्रतिकुल प्रभाव पारेको खाद्य तथा गुण नियन्त्रण विभागको अध्ययन प्रतिवेदनपछि आयात रोकेको थियो ।
सरकारले आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने भन्दै केही खाद्य पदार्थको आयातमा कडाइ सुरु गरेको छ ।
सरकारले उक्त निर्णय गरेपछि केही भारतीय सञ्चारमाध्यमले करोडौंको व्यापार प्रभावित हुने भन्दै नेपालको निर्णयलाई गलत भन्दै टिप्पणी गरेका छन् ।
उनीहरुले खुला सिमानाका कारण एक अर्का देशका नागरिक प्रभावित हुने भन्दै त्यस्तो निर्णयले व्यापार तथा वाणिज्यको क्षेत्रमा मात्रै नभइ सामाजिक रुपमा समेत प्रभाव पर्ने दाबी गरेका छन् । विवरण अनुसार भारतबाट ५० करोड रुपैयाँ बराबरको दुध तथा दुधजन्य पदार्थ र इनर्जी ड्रिङस आयात हुँदै आएको छ ।
भारतबाट आयात हुने दुध र दुधजन्य पदार्थ विशेष गरी काठमाडौं उपत्यका र शहरी क्षेत्रहरुमा बढी खपत हुँदै आएको छ । भारतको चेन्नइ, तामिलनाडू, नोयडा, दिल्ली, गुजरातलगायतका राज्यबाट हरेक महिना करिब २० ट्रक दुध तथा पेय पदार्थ नेपाल आयात हुँदै आएको छ ।
भैरहवा भन्सार विभागका प्रमुख कमल भट्टराईका अनुसार सरकारको निर्णय अनुसार नै भारतबाट आयात हुने दुध, पेय पदार्थ तथा इनर्जी ड्रिङसमा प्रतिबन्ध लगाएको हो ।
सरकारले अर्को निर्णय नगर्दासम्म आयात ठप्प हुने उनले बताए ।
भन्सार विभागका अनुसार चालु आवको ११ महिनामा नेपालले ६ अर्ब ३३ करोड ८७ लाख ६७ हजार रुपैयाँ बराबरको दुध तथा दुधजन्य पदार्थ आयात गरेको छ ।
त्यस्तै, नेपालबाट १ अर्ब २१ करोड ५४ लाख ७५ हजार रुपैयाँ बराबरको दुध तथा दुधजन्य पदार्थ निर्यात गरेको छ ।
यस आधारमा नेपाले दुध तथा दुधजन्य पदार्थमा ५ अर्ब १२ करोड ३२ लाख ९२ हजार रुपैयाँको व्यापार घाटा बेहोरेको छ ।