नेप्सेले अनलाइन ल्याएको ८ महिनामा १० समस्या, के भयो समाधान ?



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले अनलाइन प्रणाली सुरु गरेको ८ महिना पुग्नै लाग्दा १० वटा समस्या देखिएको छ । नेप्सेका अनुसार ८ महिनाको अवधिमा विभिन्न १० वटा समस्या आएको छ ।

८ महिनाको अवधिमा डाटा डिस्प्ले, यूनिक क्लाइन्ट कोड (यूसीसी), पुरानो लगानीकर्ताको केवाईसी अपडेट, डीएनए लगिङ, नयाँ सुचीकरण भएको कम्पनीको पहिलो दिनको कारोबार, जिटीसी अर्डर मोडिफिकेसन, सीडीएससी सँग प्रणाली इन्ट्रिग्रेसन, क्लियरिङ बैंकसँग इन्ट्रिग्रेसन, प्रणाली सञ्चालनमा ब्रोकरहरुको अभ्यस्तता र ब्रोकरको प्रणालीमा फ्लोरसिट डिस्प्ले जस्ता समस्या देखिएको जनाएको छ । नेप्सेका अनुसार यी सबै समस्याको समाधान भइसकेको छ ।

नेप्सेले अनलाइनको बारेमा जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा अनलाइन सुरु भएपछि करिब २ लाख ९४ हजार लगानीकर्ताले मात्र आफ्नो विवरण अद्यावधिक गराएको जनाएको छ । नेप्सेका अनुसार अनलाइन प्रणाली सुरुभएयता ११ हजार २४६ जना लगानीकर्ताले अनलाइन यूजर लिएर दोस्रो बजारमा कारोबार गरेका छन् ।

नेप्सको आइटि प्रमुख निरञ्जनसिंह नायकले भने ‘सेयर बजारमा भएका १ लाख २१ हजार २१० जना सकृय लगानीकर्तामध्ये ११ हजार २४६ जनाले मात्रै अनलाइन यूजर लिएका छन् । यसरी अनलाइन यूजर लिनेमा उपत्यका बाहिरका बढी रहेका छन् ।’ अहिले सेयर बजारमा १३ लाख २३ हजार ९२६ जना लगानीकर्ता रहेको उनको भनाई छ ।

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीका अनुसार चालु आर्थिक वर्षको ११ महिना १५ दिनमा भएको ७७ अर्ब ७४ करोड ७ लाख रुपैयाँ बराबरको कारोबारमध्ये १० अर्ब ६० करोड ३४ लाख रुपैयाँ बराबरको सेयर कारोबार अनलाइन प्रयोगकर्ताले गरेका छन् । उनका अनुसार चालु आवको यो अवधिमा १० लाख ६ हजार ३८६ मध्ये १ लाख ४५ हजार ६१७ कारोबार अनलाइन प्रयोग कर्ताले गरेका छन् ।

१० कारोबार दिनमा १० हजार भन्दा बढी संख्यामा कारोबार भएको छ भने अधिकतम दैनिक कारोबार संख्या १६ हजारसम्म पुगेको रेकर्ड रहेको पराजुलीले बताए । नेप्सेले गत कात्तिक २० गते बाट अनलाइन प्रणाली सञ्चालनमा ल्याएको हो । उक्त अनलाइन प्रणालीको अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गरेका थिए ।


क्लिकमान्डु