धनकुटामा पनि टेलिकमको उच्च गुणस्तरको सुविधा, मूख्यमन्त्रीले गरे शुभारम्भ



काठमाडौं । नेपाल टेलिकमले विश्वमै नवीन र अत्याधुनिक सूचना प्रविधिको रुपमा रहेको एउटै केबलबाट उच्च गुणस्तरको टेलिफोन र द्रुत गतिको इन्टरनेट प्रयोगमा ल्याउन सकिने एफटीटीएच सेवाको शुरुवात धनकुटामा पनि गरेको छ ।

धनकुटामा आयोजित एक कार्यक्रममा एफटीटीएच प्रविधिमार्फत सञ्चालित टेलिफोनबाट प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीलाई काठमाडौंमा फोन गरेर सेवाको उदघाटन गरे ।

सो अवसरमा मुख्यमन्त्री राईले प्रदेश नम्बर १ लाई डिजिटल प्रदेश बनाउने प्रतिबद्धता व्यक्त गर्दै समृद्ध र डिजिटल नेपाल बनाउने अभियानको नेपाल टेलिकम महत्वपूर्ण सहयात्री रहेको उल्लेख गरे । उनले ०७६ सालभित्रमा प्रदेश १ का सबै स्थानीय निकाय र शहरहरुमा यो सेवा विस्तार गर्ने तयारी भइरहेको र सो कार्यमा नेपाल टेलिकमको सहयोग रहने बताउदै प्रविधिको भरपुर उपयोग गरी जीवन सहज र समृद्ध बनाउन आव्हान पनि गरे ।

मुख्यमन्त्री राईसँगको कुराकानीमा प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले मुलुकलाई डिजिटलाइज्ड गर्न कम्पनी सक्रिय रहेको र एफटीटीएच सेवालाई अझै लोकप्रिय र प्रभावकारी बनाउन यसमार्फत श्रव्यदृश्य समेत उपलब्ध गराउने तयारी भइरहेको जानकारी दिए ।

कार्यक्रममा वायरलाइन तथा ग्राहक सेवा निर्देशनालयका निर्देशक प्रमोद कुमार परमारले नेपाल टेलिकमले पुरानो र खर्चालु तामाको तारबाट टेलिफोन र इन्टरनेट उपलब्ध गराउने प्रविधिलाई विस्थापित गर्दै फाइबरमार्फत गुणस्तरीय र द्रुत गतिको सेवा देशभर उपलब्ध गराउने क्रममा धनकुटामा प्रारम्भिक चरणमै शुभारम्भ गरिएको बताए ।

धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले सुखी नेपाली समृद्ध नेपालको अभियानलाई साकार पार्न धनकुटा नगरपालिका समेत डिजिटलइज्ड प्रविधियुक्त भएकोमा खुसी व्यक्त गरे ।

सो अवसरमा धनकुटाका प्रमुख जिल्ला अधिकारी सीताराम कार्की र धनकुटा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष जङ्ग बहादुर राईले एफटीटीएचको शुभारम्भ गरेकोमा कम्पनीलाई धन्यवाद दिएका थिए । टेलिकम पूर्वाञ्चल क्षेत्रीय निर्देशनालयका निमित्त प्रबन्धक रामनरेश कुँवरले एफटीटीएच प्रविधिका विशेषता र वितरणका बारेमा जानकारी प्रदान गरेका थिए ।

कार्यक्रम नेपाल टेलिकम पूर्वाञ्चल क्षेत्रीय निर्देशनालयका निर्देशक रामप्रसाद उपाध्यायको सभापतित्वमा सम्पन्न भएको थियो ।

हाल धनकुटामा जडान गरिएका दुईवटा एफडीसी (फाइबर डिष्ट्रिब्युसन क्याबिनेट) मार्फत ७ सय ५२ लाइन एफटीटीएच सेवा वितरण गर्न सकिने छ । आगामी दिनमा ग्राहकको माग अनुसार क्षमता वृद्धि गरी धनकुटा जिल्लाका सबै क्षेत्रमा सेवा विस्तार गर्ने तयारी कम्पनीको रहेको छ ।

नेपाल टेलिकमले एफटीटीएच अन्तर्गत व्यक्तिगत र कर्पोरेट युजर प्याकेज उपलब्ध गराइरहेको छ । यस अन्तर्गत न्यूनतम मूल्य निर्धारण गरी एक वर्षका लागि ८ एमबीपीएसको प्याक जम्मा ८ हजार रुपैयाँमा उपलब्ध छ ।

नयाँ लाइन जडान गर्ने ग्राहकले एक थान वाइफाई राउटर र एक सय मिटर फाइबर निःशुल्क प्राप्त गर्नेछन् ।साथै नयाँ लाइन जडानकर्ताहरुले तीन महिनासम्म जति कुरा गरेपनि पैसा नलाग्ने गरी छु्टको व्यवस्था गरिएको छ ।

एफटीटीएच प्रविधिमार्फत परम्परागत तामाको तारको सट्टामा घरसम्म अप्टिकल फाइबर पु¥याई ट्रिपल प्ले अर्थात भ्वाइस, उच्च गतिको इन्टरनेट र भिडियो सेवाहरु प्रदान गर्न सकिने भएकोले ग्राहकहरुको लागि यो सेवा प्रभावकारी छ । पहिले एडीएसएल प्रयोग गरिरहेका ग्राहकले समेत एफटीटीएच सेवा अपग्रेड गरी लिन सक्छन् । यो आईपीमा आधारित सेवा हो ।


पुष्प दुलाल