मौद्रिक नीतिमा ब्रोकर एशोसियनको सुझावः बैंकलाई ब्रोकर लाइसेन्स खारेज गर



काठमाडौ । स्टक ब्रोकर एशोसियनले मौद्रिक नीतिमा राष्ट्र बैंकलाई सुझाव दिदै वाणिज्य बैंकलाई दिन लागिएको सेयर ब्रोकरको लाइसेन्स खारेज गर्न माग गरेको छ ।

संघले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा समावेश गर्नुपर्ने विषयमा सुझाव दिदै बैंकलाई ब्रोकर लाइसेन्स दिएमा सेयर बजार निश्चित व्यापारीको नियन्त्रणमा पुग्ने भन्दै यो नीति खारेज गर्न माग राखेको हो ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत वाणिज्य बैंकलाई सहायक कम्पनी मार्फत सेयर ब्रोकरको लाइसेन्स खुल्ला गरेको छ ।

केही बैंकले राष्ट्र बैंकबाट सेयर ब्रोकरको लाइसेन्स पाइसकेका छन् भने केही अनुमतिको प्रक्रियामा रहेका छन् । अनुमति पाएपनि बैंकले सेयर ब्रोकरको काम भने गरेका छैनन् ।

‘बैंक र बीमाको मात्र बढी हिस्सा रहेको सेयर बजारमा एउटै समुहलाई हाबी हुन दिने गरी बैंकलाई सेयर ब्रोकरको लाइसेन्स दिने नीति खारेज गर्नुपर्ने हाम्रो माग छ,’ब्रोकर एशोसियनका अध्यक्ष भरत रानाभाटले क्लिकमाण्डूसँग भने ।

यस्तै सेयर ब्रोकरले मार्जिन लेण्डिङ केही प्रतिशत ब्रोकर मार्फत कारोबार गराउनुपर्ने माग राखेका छन् । सेयर ब्रोकरलाई मार्जिन लेण्डिङको काम गर्न दिने भनेपनि व्यवहारिक रुपमा त्यो कार्यान्वयनमा आएको छैन ।

गैर आवासीय नेपालीलाई सेयर बजारमा लगानी गरेपछि त्यो पैसा विदेश लैजान सजिलोसँग दिनुपर्ने व्यवस्था समेत मिलाउन एशोसियनले माग गरेको छ ।

विगत १० वर्षदेखि एनआरएनलाई सेयर बजारमा लगानी गर्न दिने भनिएपनि एनआरएन परिचयपत्रको आधारमा सेयर बजारमा लगानी भने आएको छैन ।

सेयर कारोबारमा अनलाइन फण्डको सिमा १० लाख रहेपनि त्यो व्यवहारिक रुपमा कार्यान्वयन नभएको भन्दै त्यसलाई समेत कार्यान्वयन गर्न संघले माग राखेको छ ।


क्लिकमान्डु