बुक बिल्डिङ लागू गर्ने ९ वर्षअघिको सेबोनको योजना अध्ययनमै सीमित, कार्कीको प्रचार मात्रै
काठमाडौं । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०७५/७६ मा धितोपत्र तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बोलकबोल प्रणाली (बुक बिल्डिङ सिस्टम) अध्ययन गर्ने योजना अगाडि सार्यो ।
त्यसमा भनिएको थियो ‘प्राथमिक निष्काशनमा मागका आधारमा मूल्य निर्धारण हुने व्यवस्थाका लागि आवश्यक बुक बुल्डिङ सिस्टम लागू गर्ने सम्बन्धमा अध्ययन गरिनेछ ।’
तर बोर्डले नीति तथा कार्यक्रम सार्वजनिक भएको १ वर्षसम्म कुनै पनि उपलब्धी हासिल गरेको छैन् । एक वर्षअघि नीति तथा कार्यक्रममा प्राथमिकताका साथ समावेश गरिएको उक्त कार्यक्रमबारे बोल्दै बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले बोर्ड वार्षिकोत्सवको अवसरमा अध्ययनका क्रममा रहेको भन्दै पन्छाउन खोजे ।
बुक बिल्डिङ सिस्टम सेयर खरिद गर्दा गरिने बोल कबोल प्रणाली हो । यसमा न्यूनतम मूल्य निर्धारण गरिएको हुन्छ । उक्त मूल्यभन्दा बढीमा जसले बोल कबोलमार्फत आवेदन दिन्छ त्यसैका आधारमा अधिकतमबाट घटाएर न्यूनतम शुल्कभन्दा कम नहुने गरी मागका आधारमा सेयर बाँडफाँड गरिन्छ ।
कार्की बोर्डमा आएपछि यस प्रणालीलाई लागू गर्नका लागि आफैले सुरुवात गरेको दाबी गर्दै आएका छन् । तर हालसम्म पनि नतिजा देखिएको छैन् ।
यो प्रणाली लागू गर्नका लागि बोर्डले ९ वर्ष अगाडि नै ५ वर्षे गुरु योजनामा समावेश गरिसकेको थियो । तत्कालिन समयमा सन् २०१२ देखि यो प्रणालीमा काम गर्ने र सन् २०१६ सम्ममा पूर्ण रुपमा लागू गर्ने गरी गुरु योजनामा समेटेको थियो ।
तत्कालिन समयमा बोर्ड र समग्र पुँजी बजारको विकासका लागि बोर्डले ठूलो रकम खर्चेर गुरु योजना तयार पारेको थियो । गुरु योजनामा धितोपत्र बोर्ड, अर्थमन्त्रालय, कानून मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालय र संसदले ंयसको लागि आवश्यक जिम्मेवारी बहन गर्ने समेत उल्लेख गरिएको छ ।
बुक बिल्डिङमा जानका लागि कम्पनी ऐन नै संशोधन गर्नका लागि समेत गुरुयोजनामा सुझाव दिइएको थियो ।
उसो त कार्कीले अध्यक्षका रुपमा बोर्ड र समग्र पुँजी बजारको विकासका लागि काम गरेका छन् । त्यसमा कुनै पनि शंका छैन् ।
तर उनले ९ वर्षे पुरानो कार्ययोजनालाई आफैले गरेको भन्दै आफूलाई प्रचार गर्दै आएका छन् । अध्यक्ष कार्कीले नीति तथा कार्यक्रम ल्याउँदा बुक बिल्डिङको विषयलाई निकै चासोका साथ प्रस्तुत गरेका थिए ।
कार्कीले ल्याएको यो विषयले पुँजी बजारमा निकै चर्चा पाएको थियो । कार्कीले पुँजी बजारको विकासका लागि बुक बिल्डिङको योजना ल्याउँदा धेरै लगानीकर्ताहरु खुसी भएका थिए ।
तर एक वर्ष हुन लाग्दा पनि त्यसमा अहिलेसम्म कुनै प्रगति नहुँदा लगानीकर्ताको उत्साह कम भएको छ ।
‘अध्ययन भइरहेको छ, अध्ययनको क्रममा भएकाले अहिले यति काम भयो भनेर भन्न सकिने अवस्था छैन’ बोर्डका एक पदाधिकारीले भने ।
बोर्डले यति अघि बढ्यो र अब यति समयावधिमा काम सकिन्छ भनेर भन्न सक्ने अवस्था यसकारण पनि छैन की यो अहिलेको योजना हुँदै होइन । यो त ९ वर्ष अघिको योजना हो । ९ वर्ष अगाडिको योजनालाई नीति तथा कार्यक्रममा आकर्षणको विषयका रुपमा प्रस्तुत गरिएको थियो ।
अरुलाई काम गर्न लगाउने र जस आफू लिन पल्केका अध्यक्ष कार्कीले यो विषयलाई पनि आफू अध्यक्ष हुँदा सकेसम्म कार्यान्वयनमा ल्याउने र नसकेको खण्डमा अध्ययनको क्रममा छाड्ने योजनामा रहेको स्रोतले जानकारी दियो ।