कार्कीको कार्यकाल सकिनै लाग्दा पनि धितोपत्र बोर्डले आफ्नै सफ्टवेयर राख्न सकेन
काठमाडौं । सेयर बजारको नियामक निकाय धितोपत्र बोर्डले विभिन्न ४ सय वटाभन्दा बढी कम्पनीहरुको अनुगमन गर्ने गरेको छ ।
यतिधेरै कम्पनीहरुको अनुगमन गर्ने संस्थाको अहिलेसम्म आफ्नो कुनै पनि सफ्टवेयर छैन । अनुगमनका लागि सफ्टवेयर नभएका कारण बोर्डले अहिलेसम्म परम्परागत शैलीमा अनुमगमन तथा मनिटरीङ गर्ने गरेको छ ।
अनुगमन गर्नसक्ने क्षमता नभएको भन्दै बोर्डले हालैमात्र कमोडिटी मार्केट सञ्चालनका लागि आवेदन दिएका ५ वटा कम्पनीलाई खारेजी गरेर २ वटालाई मात्रै बजार सञ्चालनका लागि अनुमति दिने भनेको छ । जसका लागि आवेदन दिन आह्वान समेत गरिसकेको छ ।
धितोपत्र बोर्डले सफ्टवेयर राख्ने र त्यही सफ्टवयेरको माध्यमबाट बजारको अनुगमन तथा मनिटरिङ गर्ने योजना बनाएको छ ।
डा. रेवत बहादुर कार्की बोर्डको अध्यक्ष भएको ६ महिना हुन नपाउँदै इन्फोटेक कम्पनीले सफ्टवयेर राख्न सुुझाव दिएको थियो । उक्त सुझाव आएपछि बोर्ड अध्यक्ष कार्कीले इन्फोटेक कम्पनीका प्रतिनिधिलाई बोलाएर कस्तो सफ्टवयेर राख्दा राम्रो हुन्छ भनेर राय लिएका थिए ।
उक्त समयमा इन्फोटेक कम्पनीका प्रतिनिधिले पावर प्वाईन्ट प्रिजेन्टेशन नै गरेर सफ्टवयरको बारेमा जानकारी गराएको थियो । त्यो बेला अध्यक्ष कार्की सफ्टवयेर राख्न राजी भए पनि अहिलेसम्म त्यो कामले गति लिन सकेको छैन ।
अहिले बोर्डले २२८ वटा सुचिकृत कम्पनी, ५० वटा ब्रोकर कम्पनी, ३० वटा मर्चेन्ट बैंकिङसहित विभिन्न ४ सयभन्दा बढी कम्पनीहरुको अनुगमन गर्ने गरेको छ ।
उक्त विषयमा जानकारी लिन बोर्डका प्रवक्ता निरज गिरीलाई पटक पटक आग्रह गर्दा पनि उनले कुनै जानकारी गराएनन् । उक्त विषयमा दुई पटक गिरीलाई सम्पर्क गर्दा पहिलो पटक आफूलाई जानकारी नभएको भन्दै सोधेर खबर गर्ने बताए ।
दोस्रो पटक सम्पर्क गर्दा उक्त विषयमा सूचना प्रविधि शाखामा सोधेर जानकारी गराउने बताए पनि त्यसपछि सम्पर्कमा आएनन् । गिरी बोर्डका कार्यकारी निर्देशकसमेत हुन् ।
बोर्डले सफ्टवेयर ल्याएर सफ्टवेयरको माध्यमबाट अनुगमन, मनिटरिङ गर्न आवश्यक रहेको बताउँछन् । नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले बोर्डले सफ्टवेयर ल्याएर अनुगमन मोनिटरिङ गर्न आवश्यक रहेको बताइन । सफ्टवेयर अति नै आवश्यक रहेको भन्दै यो भएको खण्डमा अनुगमन मनिटरिङ झनै प्रभावकारी हुने उनको तर्क छ ।
यता स्टक ब्रोकर एसोसिएसनक अफ नेपालका अध्यक्ष भरत रानाभाटले बोर्डले अनुगमनका लागि सफ्टवेयरको माध्यमबाट अनुगमन मोनिटरिङ गरेको खण्डमा झनै प्रभावकारी हुने बताए ।
अनुगमन, मनिटरिङलाई चुस्त दुरुस्त बनाउन सफ्टवेयरले झनै प्रभावकारी भूमिका खेल्ने उनको बुझाई छ ।