विद्युत् नियमन आयोगले निर्देशिका ल्याउन ढिलाइ गर्दा ८ कम्पनीको आइपिओ रोकियो



काठमाडौं । विद्युत नियमन आयोगले निर्देशिका ल्याउन गरेको ढिलाईको कारण ८ वटा जलविद्युत् कम्पनीको आइपिओ निष्कासनमा ढिलाइ भएको छ ।

जलविद्युत कम्पनीलाई साधारण सेयर आईपीओ जारी गर्नको लागि तयार पार्नुपर्ने निर्देशिका सार्वजनिक गरेको छैन । निर्देशिका भने आन्तरिक रुपमा तयार भएको आयोगले जनाएको छ ।

आयोगले उक्त निर्देशिका अध्ययन गरी थप सुझाव दिन धितोपत्र बोर्डलगायतका सरोकारवाला निकायलाई पठाउने तयारी गरेको छ ।

आयोगका प्रवक्ता रामप्रसाद धितालका अनुसार आयोगले बनाएको निर्देशिकाको चेक लिस्ट धितोपत्र बोर्डलगायत सरोकारवाला निकायमा पठाइने छ । उक्त निर्देशिकामा केही थपघट गर्नुपर्ने भएमा राय मागिने छ । यसका लागि एक साताको समय रहने धितालको भनाइ छ ।

उनले भने, ‘हामीले एक सातामा राय पठाउनको लागि आजै चेक लिस्ट पठाउँछौं, त्यसको जवाफ आएपछि निर्देशिकाले पुर्णता पाउने छ ।’
उक्त निर्देशिकामा राय आएपछि सोहि अनुसार निर्देशिकलाई पूर्णता दिने र साधारण सेयर जारी गर्नको लागि आवेदन दिएका कम्पनीलाई सहमति दिने उनले बताए ।

यतिबेला ८ वटा जलविद्युत कम्पनीले साधारण सेयर जारी गर्नका लागि आयोगमा निवेदन दिएका छन् । आवेदन दिएका कम्पनीहरुको आवश्यक कागजात मागेर त्यसको अध्ययन गर्ने र माग गरे अनुसारको कागजात पुगेको खण्डमा आयोगले आईपिओ जारी गर्नको लागि सहमति दिन्छ ।

आवेदन दिएका नयाँ कम्पनीहरुलाई सहमति दिनुपुर्व उनीहरुसँग के कस्तो आवश्यक कागजात माग्ने भनेर आन्तरिक निर्देशिका बनाएको उनको भनाइ छ । अब भने उक्त निर्देशिकाको लागि सुझाव आएपछि आवश्यक सुधार गर्ने र सोही अनुसार कागजात मागिने छ ।

आयोगका अध्यक्ष डिल्ली बहादुर सिंहका अनुसार आयोगमा कर्मचारी अभावको कारण काम गर्न समस्या भएको छ । आयोगले उर्जा मन्त्रालयसँग कर्मचारी माग गरेको र दरबन्दीअनुसार कर्मचारी आएर पूर्णरुपमा काम गर्न अझै ५, ६ महिना लाग्ने उनको भनाइ छ ।

कर्मचारी राख्नको लागि स्टाफ कलेजले बढीमा दु्ई महिना भित्रमा रिपोर्ट दिने र त्यस पछि माग अनुसार कर्मचारी अनुसार आउने सिंहको भनाइ छ । उनका अनुसार दरबन्दी अनुसारका कर्मचारी आउन समय लाग्ने भए पनि भएका कर्मचारी र मन्त्रालयमा केही कर्मचारी माग गरेर भए पनि आयोगको आवश्यक काम सुरु गरिरहेको उनले बताए ।

उनले भने, ‘आयोगले गर्ने काममा ढिला सुस्ती पनि हुँदैन सेवाग्राहीले समयमा नै सेवा पाउँछन ।’


क्लिकमान्डु