बजेटले समाजवादको आधारशिला तयार पारेको छ- पाण्डे
काठमाडौं । नेकपाका नेता सोमप्रसाद पाण्डेले यो सरकारले सम्बृद्ध नेपाल निर्माण गर्ने योजनाका साथ बजेट आएको दाबी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा नेता पाण्डेले सरकारले ल्याएको सुखी नेपाली सम्वृद्ध नेपाल निर्माणमा सहयोग पुग्ने बताए ।
बजेटबाट समाजवादसम्म पुग्ने आधारशिला तयार रहेको पाण्डेको भनाइ छ । यो बजेट ठूलो छरिएर आएपनि प्रतिपक्षीले समेत यो बजेटको विरोध गर्न नसकेको उनको तर्क छ ।
बजेटले कर्मचारीको तलब बढाउँदा महंगी नबढ्ने तर्क गरे । उनले भने ‘अब घर भाडा बढने, तरकारीको भाउ बढने सम्भावना हुन्छ, यसमा सरकारले समयमा नै सचेत बन्नुपर्छ ।’
निर्वाचन क्षेत्र स्थानीय विकास साझेदारी कार्यक्रममा गएको बजेटमा विरोध भएकोमा आफू आश्चर्यमा परेको बताए । उक्त बजेट सांसदमा खल्तिमा नराख्ने र उक्त पैसा कालान्तरमा स्थानीय तहमा नै जाने भएकाले धेरै गीत नगाउन आाग्रह गरे ।
पाण्डेले भने, ‘त्यो पैसा हामी सांसदहरुले चलाउने होइन, हामी मिडियटर बन्ने मात्र हो, यसमा धेरै विरोध नगरौं ।’
बैठकमा पाण्डले उद्योगलाई बढावा दिन पनि आग्रह गरेका छन् । बजेटले धौवा फलाम खानी सञ्चालन गर्ने योजना ल्याएको भन्दै यो निकै सकारात्मक विषय भएको बताए । उनले अबको बजेटले उत्पादनयोग्य क्षेत्रमा काम गर्न आवश्यक रहेको तर्क गरे ।
अहिले आएको वैदेशिक लगानी सेवामा भन्दा पनि उत्पादनमुलक काममा लगाउनु पर्ने तर्क गरे ।
साढे दुई खर्बको खाद्यान्न आयत गर्नु परेकोले अब आयात घटाउने खालको नीति ल्याउन आग्रह गरेका छन् ।