साढे २ करोड खर्च गरेर सगरमाथाबाट ११ हजार केजी फोहोर र ४ वटा लाश निकालियो
काठमाडौं । सगरमाथा सरसफाइ अभियान २०७६ अन्तर्गत हालसम्म ११ हजार केजी फोहोर संलकन गरिएको छ । गत बैशाख १ गते लुक्लाबाट सुरु भएको उक्त अभियानमा २ करोड ६८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
बेसक्याम्प तथा साउथ कोलसम्ममा भेटिएका नसड्ने र नगल्ने फोहोर संकलन गरी नेपाल आर्मीको हेलिकप्टर र ट्रकबाट काठमाडौं ल्याइएको छ ।
खुम्बु पासाङ ल्यामु गाउँपालिकाको नेतृत्वमा संयुक्त रुपमा सरसफाइ गर्दै सगरमाथा बेस क्याम्प १, क्याम्प २, क्याम्प ३ र क्याम्प ४ हुँदै साउथकोलसम्मको फोहोर संकलन गरिएको थियो ।
चार वटै क्याम्प र साउथकोलमा बेवारिसे रुपमा रहेको ४ वटा लाशसमेत काठमाडौं ल्याइएको छ । उक्त लाशहरुको हुलियासहितको सूचना जारी भइसकेको छ । यसभन्दा अगाडि नेपाली आर्मीको एमआई १७ हेलिकप्टरबाट करिब १ हजार केजी फोहोर काठमाडौं ब्ल्यु वस्ट टु भ्यालुलाई हस्तान्तरण गरिसकिएको छ ।
बेसक्याम्प वरपर करिब ५ हजार केजी, साउथपोल वरपर करिब २ हजार केजी, बेसक्याम्पस २ र ३ बाट करिब ३ हजार केजी फोहोर संकलन गर्ने लक्ष्य रहे पनि त्योभन्दा बढी फोहोर संकलन भएको छ ।
फोहोर संकलनसहित सथरमाथा सफाइ अभियानमा ४५ दिन लगाएर १२ जना शेर्पाहरु परिचालित भएका थिए भने करिब २ करोड ३२ लाख १६ हजार ३०७ रुपैयाँ खर्चं हुने अनुमान गरिएको थियो ।
सरसफाइ अभियानका लागि विभिन्न संघ संस्थाहरुबाट रकम संकलन गरिएको थियो । जसमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन, मन्त्रालय, पर्यटन विभागले २ लाख रुपैयाँ सहयोग गरेको थियो ।
त्यस्तै वन तथा वातावरण मन्त्रालय, वातावरण विभागले ५० लाख, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय प्रंदेश १ बाट २५ लाख रुपैयाँ सहयोग भएको थियो ।
त्यस्तै, खुम्बु पासाँ ल्यामु गाउँपालिकाले ३० लाख, नेपाल पर्यटन बोर्डले ३० लाख, भिजिट नेपालले १० लाख, नेपाल पर्वतारोहण संघले २० लाख, कोका-कोलाले ४१ लाख ७ हजार, बोटलर्स नेपालले १० लाख, डब्ल्युडब्ल्यू नेपालले २० लाख, प्रभु बैंकले १० लाख, एनएमबी बैंकले १० लाख, नविल बैंकले ५ लाख रुपैयाँ सोनाम गिएरले क्याप्टेनका लागि ५० र स्टाफका लागि ५० ज्याकेट र २ सय टोपी सहयोग गरेको थियो ।
त्यस्तै, तारा एयरले कार्गो र फ्लाइट टिकट गरी ५ लाख रुपैयाँ बराबरको सहयोग गरेको थियो ।