विष्णु पौडेललाई जवाफ दिँदै गगन थापाले भने- वृद्धभत्ता विरुद्ध बोल्ने मसँग छ हिम्मत




काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारले बजेटमा वृद्धभत्ता बढाउन मात्रै ध्यान दिएको तर सुविधा कसरी दिने भन्नेतर्फ नसोचेको आरोप लगाएका छन् ।

सोमबार विष्णु पौडेलले वृद्धभत्ताबारेमा कसैको बोल्ने हिम्मत छ भन्दै प्रश्न गरेका थिए । त्यसैको जवाफ दिँदै मंगलबार थापाले भने,

वृद्धभत्ताबारे बोल्ने मसँग छ हिम्मत ।

उनले भने, ‘नेकपाको बलवान सांसदले जसले बालुवाटारको जगै हल्लाइदिने हिम्मत राख्न सक्नुहुन्छ यहाँ उभिएर हिजो चुनौती दिनु भयो । वृद्धभत्ताका बारेमा बोल्ने हिम्मत छ ?
‘सबैभन्दा ठूलो कुरा भनेको सामाजिक सुरक्षा भनेको नगद हस्तान्तरण मात्रै होइन, गैर नगदको प्रबन्धबाट ३ हजार मात्रै होइन ३० हजारको सुविधा प्राप्त गर्ने अवस्था कसरी बनाउने के यसका बारेमा छलफल गर्ने कुरा बाञ्छनीय छैन ?’ उनले भने ।

सामाजिक सुरक्षाका यती धेरै कार्यक्रमहरु छन । यी सबैलाई एकीकरण गर्ने, कल्लाई युनिभर्सल बनाउने, कसलाई लक्षित गर्ने, उत्पादनसँग जोड्ने हो बजेटले समेटेको छैन् ।

उनले अगाडि थपे, ‘पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सरकारको बिदा लिँदै गर्दा ६५ वर्षको उमेरमा ५ हजार वृद्धभत्ताको व्यवस्थाको विषयमा मैले नै हचुवाको भरमा वृद्धभत्ता बढाउन हुँदैन भनेर विरोध गरेको मात्रै होइन, कानून बनाउँदा ७० वर्षलाई आधार बनाउनु पर्छ भनेर कानून संशोधन गर्न लगाउने नै म हुँ ।’

नेकपासँग आज संख्या भएको तर सिद्धान्त नभएको उनले बताए । उनले भने, ‘आज नेकपासँग संसदमा संख्या त छ तर सिद्धान्त छैन, र, यो मैले भनेको होइन, नेकपाका आफ्नै नेताहरुले सार्वजनिक मञ्चमा उभिएर भन्नु भएको छ । संसदमा उभिएर भन्नु भएको छ ।’

थापाले बहुमतको धाक देखाएर सरकारले ढाँटिरहेको समेत बताए । ‘सुरुमा श्वेतपत्रमार्फत अर्थमन्त्रीले ढाँट्नु भयो, त्यसैमा टेकेर प्रधानमन्त्रीले ढाँट्न भयो, तथ्य र तथ्यांकमा टेकेर हामीले प्रश्न गर्दा उत्तर आयो हल्ला गर्छस ? बहुमत छ ।’

बजेटमा शिक्षाको विकासका लागि उच्च स्तरीय शिक्षा आयोगको प्रतिवेदन, स्वस्थ्यको हकमा ७ वटै प्रदेशमा गरिएको अध्ययन अनुसन्धान र कृषि क्षेत्रमा ३० वर्षे रणनीतिलाई बजेटले कत्ति पनि सम्बोधन नगरेको उनले बताए ।

बजेटमा के राख्नुपर्ने थियो भनेर अहिले आएर सोध्नुहुन्छ आर्थिक वृद्धिको लक्ष्य, राजस्वको लक्ष्य केही पनि भेट्न सकिन्न, वैदेशिक ऋण उठाउन सक्दैन उठाए पनि परिचालन गर्न सक्दैन, नयाँ रोजगारी सिर्जना गर्न सक्दैन, पर्यटक आए पनि आम्दानी बढ्दैन र यसमा बजेटले केही पनि सम्बोधन नगरेको उनको भनाइ छ ।


क्लिकमान्डु